असार २८, २०८३ आइतबार July 12, 2026

होल्डिङ सेन्टरका सुकुम्बासीको विचल्ली

त्रिविको स्मृति भवनमा पनि सुत्ने र बस्ने पर्याप्त ठाउँ नभएका कारण धेरै जना गएर उभिएरै रात काट्न बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बाढीको जोखिमबाट जोगाउने भन्दै होल्डिङ सेन्टरमा सारिएका सुकुम्बासी परिवारहरू त्यहीँ डुबानमा परेका छन् । लगातारको वर्षापछि होल्डिङ सेन्टरभित्रै पानी पसेपछि त्यहाँ बसोबास गरिरहेका परिवारले व्यवस्थापनप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । एउटा खोलाको जोखिमबाट जोगाउने भन्दै स्थानान्तरण गरिए पनि अहिले उनीहरू थप समस्यामा परेका हुन् । ‘एउटा खोलाले बगाउँछ भनेर यहाँ ल्याइयो, अहिले त तीनवटा खोलाको बीचमा पर्‍यौँ’, एक पीडितले हिमालय टाइम्ससँग गुनासो पोखे । सुकुम्बासीहरू फेरि एकपटक विस्थापित हुनुपर्ने यो अवस्था प्राकृतिक विपद्को परिणाम मात्र नभई सरकारी नीतिको र अस्थायी व्यवस्थापनको कमजोरी पनि हो ।

अविरल वर्षासँगै बागमती नदीमा आएको बाढी पसेपछि काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर पूर्णरूपमा डुबानमा परेको हो । सुरक्षित बासस्थानको खोजीमा त्यहाँ आश्रय लिएका दर्जनौँ सुकुम्बासी परिवार एकै रातमा फेरि सडकमा आएका छन् । शुक्रबार रातिदेखि नदीको जलस्तर बढ्दै गएपछि मध्यरातमा होल्डिङ सेन्टरभित्र पानी पसेको थियो । यस घटनाले अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासीहरूको विचल्ली भएको छ । यसले राज्यको विपद् व्यवस्थापन र सुकुम्बासी नीतिको क्षमतामाथि पनि गम्भीर प्रश्न उब्जाएको छ ।

बाढीबाट जोगाउने भन्दै सरकारले नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर उनीहरूलाई यस सेन्टरमा सारेको थियो । तर, सुरक्षित भनिएको स्थानमै बाढी पसेपछि सुकुम्बासीहरू पुनः विस्थापित हुन पुगेका छन् । राति करिब १२ बजेतिर बाढीको पानी होल्डिङ सेन्टरमा पस्न थालेको थियो । हेर्दाहेर्दै घुँडासम्म पानी जमेपछि त्यहाँ रहेका मानिसमा हाहाकार मच्चिएको थियो । अचानक बाढी पस्दा धेरैले आफ्ना घरायसी सामान सुरक्षित स्थानमा सार्नसमेत पाएनन् । बाढीका कारण ओढ्ने, ओछ्याउने, लत्ताकपडा, खाद्यान्न र अत्यावश्यक औषधीहरू पूर्णरूपमा भिजेर नष्ट भएका छन् । १५ दिनका लागि भनेर ल्याइएका सुकुम्बासीहरू तीन महिनासम्म पनि त्यहीँ कष्टकर जीवन बिताउन बाध्य थिए । त्यसमाथि प्राकृतिक विपत्तिले उनीहरूको बाँच्ने आधार नै भत्काइदिएको छ ।

मध्यरातको चीत्कार र सुरक्षाकर्मीको उद्धार

बाढी पसेर डुबानको जोखिम बढेपछि सुरक्षाकर्मीले रातारात उद्धार अभियान सञ्चालन गरेका थिए । गृह मन्त्रालयका अनुसार शुक्रबार राति १ बजेर ३८ मिनेटमा डुबानको आधिकारिक सूचना प्राप्त भएको थियो । त्यसपछि तत्कालै दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा विपद् व्यवस्थापनसहित ३० जना र नेपाल प्रहरीका थप ३० जना गरी कुल ६० जनाको संयुक्त टोली घटनास्थलमा खटाइएको थियो । यद्यपि, पीडितहरूको गुनासो भने अलि फरक छ ।

होल्डिङ सेन्टरमा आश्रय लिनुभएकी गृभानिका थापा मगरले १२ बजेतिरै बाढी पसे पनि सुरक्षाकर्मीहरू राति करिब २ बजेपछि मात्रै पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरक्षाकर्मीहरूले डुंगाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश सामग्री काम नलाग्ने गरी बिग्रिएका छन् । सुकुम्बासीहरूले नै एकअर्काको सामान निकाल्ने प्रयत्न गर्नुभएको थियो ।’

उद्धार टोलीले होल्डिङ सेन्टरमा रहेका कुल १५४ जनामध्ये ५४ जनालाई सुरक्षित रूपमा उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा स्थानान्तरण गरेको छ । अन्य ६ जना भने आफन्तको घर वा नजिकैको होस्टलमा बस्न गएका छन् । बाँकी रहेका ९४ जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको अलि सुरक्षित स्थानमा बसिरहेका छन् । त्रिविको स्मृति भवनमा पनि सुत्ने र बस्ने पर्याप्त ठाउँ नभएका कारण धेरै जना गएर उभिएरै रात काट्न बाध्य हुनुपरेको थियो । सोही कारण कतिपयले त्यहाँ जानुभन्दा डुबानकै बीच सेन्टरमै बस्न रुचाएको बताएका छन् । शनिबार बिहानदेखि बागमती नदीको बहाव केही घटेपछि प्रभावित परिवारले सेन्टरभित्र रहेका आफ्ना भिजेका लत्ताकपडा र खाद्यान्न निकालेका थिए । घटनापछि होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति गराइएको छ ।

सरकारी नीतिको मार र विस्थापितको पीडा

सरकारले गत वैशाख १२ गते काठमाडौंका नदी र खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर त्यहाँ बसिरहेकाहरूलाई कीर्तिपुर, इचंगु, खरिपाटी, बनेपा र नगरकोटका होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरेको थियो । तर, असार ८ गते सरकारले एक सूचना जारी गर्दै उनीहरूलाई पाँच दिनभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दियो । सुकुम्बासीहरूले जाने ठाउँ नभएर होल्डिङ सेन्टर नछाडेपछि थप तीन दिनको समय दिइएको थियो ।

अहिले सरकारले उनीहरूलाई होल्डिङ सेन्टर छाडेर जान दबाब दिनका लागि खाना र पानीको व्यवस्थासमेत कटौती गरिसकेको छ । भित्तामा सूचना टाँसेर सेन्टर खाली गर्न उर्दी जारी गरिएको छ । पुनःस्थापनाका लागि सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँ दिने र त्यसपछि तीन महिनासम्म कोठा भाडाबापत मासिक १५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो । यद्यपि, सबै सुकुम्बासीहरूले उक्त २५ हजार रुपैयाँ लिएका छैनन् । काठमाडौंमा अहिले कोठा पाउन निकै मुस्किल छ । सुकुम्बासी भनेपछि घरबेटीहरूले गेटबाटै फर्काइदिने गरेको उनीहरूको दुःखेसो छ । घर भाडामा नपाइने र जाने कुनै निश्चित ठाउँ नभएका कारण उहाँहरू होल्डिङ सेन्टरमै कष्ट सहेर बस्न बाध्य छन् ।

सेन्टरमा मुटु रोगी, मिर्गौलाका बिरामी र दमका रोगीसमेत छन् । लगातारको वर्षापछिको चिसो र ओसिलो वातावरणका कारण उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । पीडितहरूले आफूहरूमाथि अमानवीय व्यवहार भएको र मर्नु न बाँच्नुको अवस्था सिर्जना गरिएको भन्दै सरकारप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । उनीहरूले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘यो खालको बर्बरता कहिलेसम्म सहने ? के हामी नदीमा हाम फालेर मर्नुपर्ने हो ? हाम्रा पनि बालबच्चा छन्, हामी कुकुर बिरालो होइनौँ ।’ सुकुम्बासी आफैँ भागेर जान्छन् भन्ने मनसायले सरकारले यस्तो कठोर नीति ल्याएको उनीहरूको आरोप छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज
२०८३ असार २८, आइतबार
भोजपुरमा विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता
२०८३ असार २८, आइतबार
खामोनी हत्याको बदला लिने इरानका नयाँ सर्वोच्च नेताको प्रतिबद्दता
२०८३ असार २८, आइतबार
फिफा विश्वकप २०२६ : स्विट्जरल्यान्डलाई हराउदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश
२०८३ असार २८, आइतबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार २८, आइतबार
केप भर्डे फुटवलले मात्रै होइन, ‘एलजीवीटी क्यु हेभन’ले पनि उत्तिक छ चर्चित
२०८३ असार २८, आइतबार
हालै विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडनको ‘रहस्यमय मृत्यु’
२०८३ असार २८, आइतबार