असार ३०, २०८३ मंगलबार July 14, 2026

रुसमा युक्रेनी ड्रोन आक्रमणमा चार जनाको मृत्यु, सात घाइते

युक्रेनसँग सीमा जोडिएको बेल्गोरोद क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको र दुई पुरुष घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, २९ असार (रासस/एएफपी): रुसमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार आक्रमणका अधिकांश घटना मस्को क्षेत्र आसपास केन्द्रित थिए ।

क्रेमलिनको निरन्तर आक्रमणको जवाफस्वरूप युक्रेनले रुसमाथिका ड्रोन आक्रमण तीव्र बनाएको छ । किएभले रुसी ऊर्जा संरचना तथा अन्य रणनीतिक क्षेत्रमा गरिएका आक्रमणलाई आफ्नो प्रतिरक्षात्मक कदमका रूपमा व्याख्या गर्दै आएको छ ।

मस्को क्षेत्रका गभर्नर आन्द्रे भोरोब्योभले टेलिग्राममार्फत इस्ट्राको पियोनेस्र्की बस्तीमा ड्रोन खसेर तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएको जानकारी दिनुभयो । सोही क्षेत्रको अर्को भागमा थप दुई जना घाइते भएको उहाँले बताउनुभयो ।

रुसी वायु रक्षा प्रणालीले मस्को क्षेत्रमा ८१ वटा ड्रोन नष्ट गरेको भोरोब्योभले दाबी गर्नुभयो ।

युक्रेनसँग सीमा जोडिएको बेल्गोरोद क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको र दुई पुरुष घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

यसैगरी, दक्षिणी स्टाभ्रोपोल क्षेत्रमा भएको ड्रोन आक्रमणपछि एउटा औद्योगिक क्षेत्रमा आगलागी भएको क्षेत्रीय गभर्नर भ्लादिमिर भ्लादिमिरोभले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा उद्धार तथा अग्नि नियन्त्रण टोली परिचालन गरिएको थियो र मानवीय क्षति भएको छैन ।

“क्षेत्रभरि ड्रोन आक्रमणको जोखिम कायमै छ । सबैलाई सतर्क रहन आग्रह गर्दछु”, उहाँले भन्नुभयो । यसैबीच, युक्रेन युद्ध अन्त्यका लागि रुसमाथि दबाब बढाउने विषयमा छलफल गर्न युक्रेनका सहयोगी राष्ट्रहरू सोमबार पेरिसमा भेला हुँदैछन् ।

अमेरिकाले इरानसँगको बढ्दो तनावमा ध्यान केन्द्रित गरेपछि युक्रेन युद्ध अन्त्यका लागि भइरहेको अमेरिकी नेतृत्वको कूटनीतिक पहल पछिल्ला महिनामा सुस्त बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया