काठमाडौं : भारतको संसद्को मनसुन सत्रको पहिलो दिन सोमबार राजधानी दिल्लीमा निट पेपर लिक र शिक्षा क्षेत्रमा सुधारको माग गर्दै हजारौं युवाहरूले विशाल प्रदर्शन गरेका छन् । कक्रोच जनता पार्टीको आह्वानमा भएको ‘संसद् चलो’ मार्चका कारण दिल्लीको सुरक्षा व्यवस्था कडा पारिनुका साथै प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ ।
संसद् भवन नजिकै पुग्न खोजेका प्रदर्शनकारीहरूलाई रोक्न दिल्ली प्रहरी र अर्धसैनिक बलले अश्रुग्यासका गोला प्रहार र लाठीचार्ज गरेको छ । प्रदर्शनकारीहरू रेल भवन र विजय चोक जस्ता उच्च सुरक्षा घेराभित्र पुगेपछि प्रहरीले बल प्रयोग गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरीहरू घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले जन्तर मन्तर, संसद् मार्ग र कनट प्लेस जस्ता क्षेत्रहरू खाली गराएको छ ।
प्रदर्शनलाई मध्यनजर गर्दै नयाँ दिल्लीमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ (पुरानो धारा १४४) लागू गरिएको छ, जसअन्तर्गत ५ वा सोभन्दा बढी व्यक्ति जम्मा हुन निषेध गरिएको छ । सुरक्षाका लागि ५ हजारभन्दा बढी जवानहरू तैनाथ गरिएका थिए भने मध्य दिल्लीलाई १५ जोनमा विभाजन गरिएको थियो । सुरक्षाकै कारण केन्द्रीय सचिवालय र राजीव चोक लगायतका ५ वटा मेट्रो स्टेशनका गेटहरू अस्थायी रूपमा बन्द गरिएको थियो । प्रदर्शन स्थल आसपासको इन्टरनेट सेवा समेत बन्द गरिएको दाबी गरिएको छ ।
‘कक्रोच जनता पार्टी’ कुनै राजनीतिक दल नभई एक व्यङ्ग्यात्मक अभियानको रूपमा सुरु भएको युवाहरूको समूह हो । एक वरिष्ठ न्यायाधीशले बेरोजगार युवाहरूलाई ‘कक्रोच’ (साङ्लो)सँग तुलना गरेपछि, त्यसैलाई प्रतिरोधको प्रतीक बनाउँदै यो नाम राखिएको हो । यस समूहले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा पारदर्शिताको माग गरिरहेको छ ।
सोनम वाङचुक विगत २१ दिनदेखि अनशनमा थिए, जसलाई शनिबार प्रहरीले जबरजस्ती अस्पताल भर्ना गराएको थियो । उनी हाल सफदरजंग अस्पतालमा उपचाररत छन् तर उनले आफ्नो उपवास तोडेका छैनन् । अर्का संस्थापक अभिजीत दिपकेले भने सोमबार २.५ दिन लामो अनशन तोडेका छन् । त्यस्तै, २३ दिनदेखि अनशनमा रहेका आइसाका तीन विद्यार्थीहरूले पनि कलाकार र अधिकारकर्मीहरूको आग्रहमा अनशन अन्त्य गरेका छन् ।
प्रदर्शनलाई कांग्रेस, आम आदमी पार्टी र तृणमूल कांग्रेस जस्ता विपक्षी दलहरूले समर्थन गरेका छन् । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले प्रहरी कारबाहीलाई ‘लोकतन्त्रमाथिको हमला’ भन्दै निन्दा गरेका छन् ।
यसैबीच, सरकारले प्रदर्शनकारीहरूसँग वार्ताको पहल गरेको छ । केन्द्रीय स्वास्थ्य मन्त्री जेबी नड्डा र सिजेपीको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ, जहाँ युवाहरूले आफ्ना मागहरूको सूची बुझाएका छन् । मन्त्री नड्डाले ती मागहरूबारे सरकारभित्र छलफल गर्ने आश्वासन दिएका छन् ।
अहिले दिल्लीको कनट प्लेस र संसद् आसपासको यातायात सामान्य बन्दै गए पनि जन्तर मन्तरमा अझै ठुलो संख्यामा प्रहरी तैनाथ रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया