श्रावण ७, २०८३ बिहिबार July 23, 2026

हर्मुज खुला राख्न आसियानको जोड

आगामी नोभेम्बरमा हुने आसियान शिखर सम्मेलनअघि आचारसंहिता सम्बन्धी सहमति हुने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मनिला, साउन ७ गते । अमेरिका-इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा बढ्दो जोखिम देखिएपछि दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले अन्तर्राष्ट्रिय जलघाँटीमा निर्बाध आवागमन र नौवहन स्वतन्त्रता सुनिश्चित गर्न आह्वान गर्ने भएको छ ।

मनिलामा सम्पन्न विदेशमन्त्री स्तरीय बैठकपछि जारी हुने मस्यौदा संयुक्त वक्तव्यमा हर्मुज जलघाँटी खुला राख्नुपर्नेमा विशेष जोड दिइएको छ । मस्यौदा वक्तव्यमा मध्यपूर्वको द्वन्द्व थप नचर्काउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ । साथै, अन्तर्राष्ट्रिय जलघाँटीमा जहाज र हवाई उडानको स्वतन्त्र आवागमन सुनिश्चित गरिनुपर्ने विषयलाई पहिलो पटक स्पष्टरूपमा समावेश गरिएको छ ।

आसियान बैठकमा सहभागी हुन मनिला पुग्नुभएका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलघाँटी नियन्त्रणमा राख्नु अन्तर्राष्ट्रिय समुद्री आवागमनका लागि खतरनाक नजिर बन्न सक्ने चेतावनी दिनुभएको थियो । उहाँले नौवहन स्वतन्त्रता अन्तर्राष्ट्रिय व्यवस्थाको आधारभूत सिद्धान्त भएको उल्लेख गर्नुभयो ।

संयुक्त राज्य अमेरिका र इजरायलको आक्रमणपछि हर्मुज जलघाँटी प्रभावकारी रूपमा बन्द हुँदा ऊर्जा आयातमा निर्भर दक्षिणपूर्वी एसियाली मुलुक प्रत्यक्ष प्रभावित भएका छन् । इन्धन अभाव र मूल्य वृद्धिका कारण फिलिपिन्सले राष्ट्रिय आपतकालसमेत घोषणा गरिसकेको छ । यद्यपि मस्यौदा वक्तव्यमा क्षेत्रीय ऊर्जा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको भए पनि साझा ऊर्जा ग्रिड वा इन्धन साझेदारी योजना जस्ता यसअघि प्रस्तावित कार्यक्रमबारे कुनै नयाँ प्रगति उल्लेख गरिएको छैन ।

दक्षिणपूर्वी एसिया विश्वका अत्यधिक व्यस्त समुद्री मार्ग मलक्का जलघाँटी र सिङ्गापुर जलघाँटीको केन्द्रमा रहेको क्षेत्र हो । त्यसैले अन्तर्राष्ट्रिय समुद्री व्यापारमा अवरोध उत्पन्न हुँदा यस क्षेत्रका अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने विश्लेषण गरिएको छ । यसैबिच, बैठक सुरु हुनुअघि विवादित दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच नयाँ तनाव उत्पन्न भएको थियो ।

त्यसका बाबजुद मनिलास्थित चिनियाँ राजदूत जिङ क्वानले दक्षिण चीन सागरका लागि आचारसंहिता निर्माणसम्बन्धी वार्ता निर्धारित समयमै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । मलेसियाका विदेशमन्त्री मोहम्मद हसनले पनि आगामी नोभेम्बरमा हुने आसियान शिखर सम्मेलनअघि आचारसंहिता सम्बन्धी सहमति हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।

चिनियाँ पक्षले प्रस्तावित आचारसंहिता द्विपक्षीय क्षेत्रीय विवाद समाधानका लागि नभई समुद्री गतिविधिका साझा आचरणका नियम तय गर्न केन्द्रित हुने जनाएको छ । यद्यपि विश्लेषकले चीन र आसियानका सबै सदस्य राष्ट्रलाई स्वीकार्य बनाइने यस्तो दस्तावेज प्रभावकारी कार्यान्वयनका दृष्टिले कमजोर हुन सक्ने चेतावनी दिएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लहानका कर अधिकृत ५ लाख घुससहित रंगेहात पक्राउ
२०८३ श्रावण ७, बिहिबार
कास्कीमा ‘अप्रेसन ३६५’, अठार मोटरसाइकल नियन्त्रणमा
२०८३ श्रावण ७, बिहिबार
लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : अध्यक्ष ओली
२०८३ श्रावण ७, बिहिबार
अर्गानिक कृषि प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
२०८३ श्रावण ७, बिहिबार
नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री
२०८३ श्रावण ७, बिहिबार
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
२०८३ श्रावण ७, बिहिबार
हर्मुज खुला राख्न आसियानको जोड
२०८३ श्रावण ७, बिहिबार