काठमाण्डौः दक्षिणपश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र क्याप–फेरेट प्रायद्वीपसम्म फैलिएको आगलागीले १० हजार हेक्टरभन्दा बढी वन क्षेत्र नष्ट गरेको छ भने दर्जनौँ घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।
अधिकारीहरूका अनुसार बोर्डोबाट पश्चिमतर्फ रहेको सौमोस गाउँमा बुधबार सुरु भएको आगो तीव्र गतिमा फैलिँदै क्याप–फेरेट प्रायद्वीप पुगेको हो । पाइन वन, बालुवाका टाकुरा र ओइस्टर उत्पादनका लागि परिचित यो क्षेत्र फ्रान्सका चर्चित व्यक्तिहरूको रोजाइको पर्यटकीय गन्तव्य मानिन्छ ।
फ्रान्सका गृहमन्त्री ब्रुनो रेटायोले करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताउनुभयो । उहाँले यसलाई चालु मौसमकै सबैभन्दा ठूलो डढेलो भएको उल्लेख गर्दै हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट ८० वटा घर जलेका छन् तीमध्ये करिब ५० वटा पूर्ण रूपमा नष्ट भएका छन् । आगो अझै नियन्त्रणमा आउन नसकेको र त्यसलाई नियन्त्रणमा लिन एक हजारभन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको उहाँले बताउनुभयो ।
अधिकारीहरूका अनुसार एटलान्टिक तटस्थित प्रभावित प्रायद्वीपबाट चार सयभन्दा बढी व्यक्तिलाई डुङ्गामार्फत सुरक्षित स्थानमा उद्धार गरिएको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोनले सामाजिक सञ्जालमार्फत अवस्था अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै आगलागी नियन्त्रणका लागि युरोपेली सङ्घ (इयु) को नागरिक सुरक्षा संयन्त्र सक्रिय पारिएको जानकारी दिनुभयो । उहाँका अनुसार चेक गणतन्त्र र स्लोभाकियाबाट दुईवटा ‘ब्ल्याक हक’ हेलिकोप्टरसहित थप प्राविधिक सहयोग फ्रान्स आइपुग्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया