श्रावण १०, २०८३ आइतबार July 26, 2026

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

ट्रम्पको कमजोर अनुमोदन दरले रिपब्लिकनले प्रतिनिधिसभामा सिट गुमाउने सम्भावना बढाएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, १० साउन (रासस/एएफपी): संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पका रिपब्लिकनले प्रतिनिधिसभाको बहुमत गुम्न नदिन र सिनेटमा आफ्नो नियन्त्रण कायम राख्न कठिन प्रतिस्पर्धाको सामना गरिरहेका छन् ।

ट्रम्प नोभेम्बर ३ मा हुने मतदानमा उम्मेदवार नबन्ने भए पनि मध्यावधि चुनावको परिणाम उहाँका लागि महत्वपूर्ण हुनेछ । डेमोक्र्याटले प्रतिनिधिसभामा बहुमत हासिल गरेमा उनीहरूले शक्तिशाली समितिको नेतृत्व र अनुसन्धान तथा छानबिनका लागि समन अधिकार पाउनेछन् । यसले ट्रम्प प्रशासनमाथि दुई वर्षसम्म व्यापक अनुसन्धान हुनसक्ने र उहाँविरुद्ध तेस्रो महाभियोगको प्रयाससमेत अघि बढ्न सक्ने सम्भावना छ ।

रिपब्लिकन यसपटक ऐतिहासिक रूपमा साँघुरो प्रतिनिधिसभा बहुमत, राष्ट्रपतिको कमजोर अनुमोदन दर तथा जीवनयापनको बढ्दो लागत र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टिबीच चुनावी मैदानमा उत्रिएका छन् ।

अमेरिकी चुनावसम्बन्धी वेबसाइट डिसिजन डेस्क मुख्यालयले डेमोक्र्याटले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने सम्भावना ५९ प्रतिशत रहेको आकलन गरेको छ । उसले डेमोक्र्याटको सम्भावित बहुमत २२४–२११ हुने प्रक्षेपण गरेको छ ।

राष्ट्रपतिको दलले सामान्यतया मध्यावधि चुनावमा सिट गुमाउने गरेको छ । यसपटक केही सीमित सिटमा हुने परिवर्तनले प्रतिनिधिसभाको नियन्त्रणमा प्रभाव पार्न सक्ने देखिएको छ ।

इरानसँगको युद्धले ऊर्जा बजारमा असर पारेको, मुद्रास्फीति अझै उच्च रहेको तथा ब्याजदर बढिरहेकाले अमेरिकी अर्थतन्त्रप्रति मतदाताको असन्तुष्टि बढेको छ । पेट्रोलको मूल्यसमेत प्रतिग्यालोन चार डलरभन्दा माथि पुगेको छ ।

डेमोक्र्याटले उद्धृत गरेका विभिन्न सर्वेक्षणले मुद्रास्फीति, स्वास्थ्य सेवा र आप्रवासनका विषयमा मतदाताको विश्वास रिपब्लिकनभन्दा डेमोक्र्याटतर्फ बढेको देखाएको दाबी गरेका छन् ।

हाउस डेमोक्र्याटिक नेता हकीम जेफ्रीजले बिहीबार किराना सामान, पेट्रोल, आवास र स्वास्थ्य सेवाको मूल्यलाई केन्द्रमा राखेर आफ्नो पार्टीको चुनावी अभियान घोषणा गर्दै ट्रम्प र रिपब्लिकनले अमेरिकी जनतालाई निराश पारेको आरोप लगाउनुभयो ।

‘सामान्य बुद्धिमत्ता’ बिरुद्ध प्रगतिशील एजेन्डा

रिपब्लिकनले भने आगामी चुनावलाई प्रतिनिधिसभाका सभामुख माइक जोनसनले भनेझैँ ‘सामान्य बुद्धिमत्ता’ र बढ्दो प्रगतिशील डेमोक्र्याटिक पार्टीबीचको छनोटका रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन् ।

उनीहरूले डेमोक्र्याटिक उम्मेदवारलाई ‘समाजवादी वामपन्थी’सँग जोडेर प्रस्तुत गर्ने तथा सीमा सुरक्षा र कर कटौतीलाई प्रमुख चुनावी मुद्दा बनाउने योजना बनाएका छन् ।

ट्रम्पले पनि रिपब्लिकनका लागि उपलब्ध सबै राजनीतिक लाभ उठाउने प्रयास गरिरहनुभएको छ । उहाँले चुनावी धोखाधडी रोक्न आवश्यक रहेको भन्दै ‘सेभ अमेरिका ऐन’ पारित गर्न कङ्ग्रेसका रिपब्लिकन सदस्यलाई दबाब दिँदै आउनुभएको छ । डेमोक्र्याटले भने उक्त विधेयकलाई वैध मत दबाउने प्रयासका रूपमा आलोचना गरेका छन् ।

यसैबीच, दुवै दलले आफ्नो पक्षमा हुने गरी निर्वाचन क्षेत्रको नक्सा पुनःनिर्धारण गर्ने प्रयास गरेका छन् । रिपब्लिकनले यसबाट पाँचदेखि १२ सिटसम्म खुद लाभ लिन सक्ने अनुमान गरिएको छ । यसले अत्यन्तै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको प्रतिनिधिसभाको चुनावमा राष्ट्रिय राजनीतिक वातावरणको प्रभावलाई केही हदसम्म कम गर्न सक्नेछ ।

जर्ज वासिङ्टन विश्वविद्यालयकी राजनीतिशास्त्रकी प्राध्यापक सारा बाइन्डरले यसपटकको निर्वाचन क्षेत्रमा पुनःनिर्धारण विशेष प्रभावकारी भएको बताउनुभयो । उहाँका अनुसार प्रतिनिधिसभाका करिब २० निर्वाचन क्षेत्रमा मात्र वास्तविक रूपमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

“निर्वाचन क्षेत्र पुनःनिर्धारणले डेमोक्र्याटले ती सिटमा प्रतिस्पर्धा गर्न सक्ने आधारलाई वास्तवमै कमजोर बनाएको छ,” उहाँले एएफपीसँग भन्नुभयो ।

रिपब्लिकनले चुनावी अभियानका लागि आर्थिक लाभसमेत हासिल गरेका छन् । पार्टीका अभियान समिति तथा सहयोगी समूहहडेमोक्र्याटिक समकक्षीभन्दा करोडौँ डलर बढी रकमसहित चुनावको अन्तिम चरणमा प्रवेश गरेका छन् ।

सिनेटमा पनि कडा प्रतिस्पर्धा

सिनेटमा पनि प्रतिस्पर्धा उत्तिकै महत्वपूर्ण देखिएको छ । रिपब्लिकनसँग ५३–४७ को बहुमत रहेकाले डेमोक्र्याटलाई नियन्त्रण हासिल गर्न चार सिटको खुद लाभ आवश्यक हुनेछ ।

डिसिजन डेस्क मुख्यालयले भने ५०–५० को बराबरी भए पनि उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतका कारण रिपब्लिकनले सिनेटमा नियन्त्रण कायम राख्ने सम्भावना रहेको जनाएको छ ।

ट्रम्पका लागि प्रतिनिधिसभा र सिनेटमा फरक–फरक दलको नियन्त्रण भए पनि बाँकी कार्यकालमा ठूलो प्रभाव पर्नेछ । डेमोक्र्याटले प्रतिनिधिसभा नियन्त्रण गरेमा ट्रम्पको विधायकी एजेन्डा अवरुद्ध हुनसक्नेछ भने उहाँका अधिकारीले संसदीय छानबिन र सार्वजनिक सुनुवाइको सामना गर्नुपर्नेछ ।

डेमोक्र्याटले इरानसँगको युद्ध, प्रशासनको नैतिकता तथा निर्वाचन प्रणाली पुनःनिर्धारण गर्न ट्रम्पले गरिरहेका प्रयासलगायतका विषयमा अनुसन्धान अघि बढाउन सक्नेछन् ।

राजनीतिक विश्लेषक चक टोडले मध्यावधि चुनाव हुन १०० दिन बाँकी रहँदा रिपब्लिकन नौ महिनाअघि सिनेटमा ‘स्पष्ट रूपमा अगाडि’ रहेको अवस्थाबाट अहिले ‘झिनो अग्रता’को अवस्थामा पुगेको बताउनुभएको छ ।

उहाँका अनुसार प्रतिनिधिसभाको चुनावमा डेमोक्र्याटले १० देखि २५ सिटसम्मको लाभ हासिल गर्न सक्ने सम्भावना छ ।

इकोनोमिस्ट÷युगोभको पछिल्लो सर्वेक्षणमा ट्रम्पको लोकप्रियता पनि न्यून बिन्दुनजिक देखिएको छ । सर्वेक्षणमा ३६ प्रतिशत अमेरिकीले मात्र राष्ट्रपतिका रूपमा उहाँको कार्यसम्पादनलाई अनुमोदन गरेका छन् ।

टोडले राष्ट्रपतिको अनुमोदन दर मध्यावधि चुनावको परिणाम अनुमान गर्ने सबैभन्दा महत्वपूर्ण सूचक भएको बताउँदै ट्रम्पको कमजोर अनुमोदन दरले रिपब्लिकनले प्रतिनिधिसभामा सिट गुमाउने सम्भावना बढाएको उल्लेख गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान
२०८३ श्रावण १०, आइतबार
मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
२०८३ श्रावण १०, आइतबार
बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
२०८३ श्रावण १०, आइतबार
पार्टी एकता सहमतिउन्मुख : सभापति थापा
२०८३ श्रावण १०, आइतबार
एपिएफ स्कूलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा
२०८३ श्रावण १०, आइतबार
प्रश्नपत्र चुहावटः यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ
२०८३ श्रावण १०, आइतबार
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
२०८३ श्रावण १०, आइतबार