तेहरान, १० साउन (रासस/एएफपी): इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने विषयमा ओमानसँग भएको वार्तामा प्रगति भएको जनाएको छ ।
तेल तथा ग्यासको अन्तरराष्ट्रिय व्यापारका लागि महत्वपूर्ण मानिने उक्त जलमार्ग इरान र ओमानको जलक्षेत्रसँग जोडिएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले शुक्रबार र शनिबार तेहरानमा इरान र ओमानका उपविदेशमन्त्रीबीच वार्ताका विभिन्न चरण सम्पन्न भएको बताउनुभयो ।
उहाँका अनुसार दुवै देशको सार्वभौम अधिकारको सम्मान गर्दै ‘स्ट्रेट अफ होर्मुज’बाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने साझा सिद्धान्त र सञ्चालन संयन्त्र निर्माणमा वार्ता केन्द्रित थियो ।
बाकायीले वार्ता उपयोगी र प्रगतिपूर्ण रहेको बताउँदै दुवै पक्षबीच प्राविधिक तथा राजनीतिक परामर्श जारी रहेको जानकारी दिनुभयो ।
जुन महिनामा इरान र ओमानले ‘स्ट्रेट अफ होर्मुज’हुँदै आवतजावत गर्ने पानीजहाजमाथि सेवा शुल्क लगाउने विषयमा छलफल गर्ने बताएका थिए । अमेरिकाले भने उक्त प्रस्तावको विरोध गरेको थियो ।
ओमानले आफ्नो जलक्षेत्र हुँदै पानीजहाजलाई ‘स्ट्रेट अफ होर्मुज’पार गर्न सकिने बताएपछि इरान असन्तुष्ट बनेको थियो । त्यसपछि तेहरानले जलमार्गमा तनाव बढाउने कदम चालेको थियो ।
इरानले शनिबार करिब दुई सातासम्म चलेको अमेरिकी आक्रमणपछि पछिल्लो समय कुनै नयाँ अमेरिकी आक्रमण नभएको जनाएको छ ।
समाचार वेबसाइट ‘एक्सियोस’का अनुसार अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष लगातार १४औँ रात इरानमाथि आक्रमण गर्ने योजना प्रस्तुत गरेको थियो । तर, ट्रम्पले पुनः वार्तालाई प्राथमिकता दिँदै उक्त योजना स्वीकृत गर्न अस्वीकार गर्नुभएको थियो ।
प्रतिवेदनअनुसार ‘स्ट्रेट अफ होर्मुज’ पुनःखोल्ने नयाँ व्यवस्थाबारे वार्ता गर्न ओमानी प्रतिनिधिमण्डल तेहरान पुगेपछि ट्रम्पले आक्रमण रोक्ने निर्णय गर्नुभएको थियो ।
यसैबीच, ‘स्ट्रेट अफ होर्मुज’मा पानीजहाजको आवतजावतको अवस्थाबारे सोधिएको प्रश्नमा बाकायीले हालसम्म कुनै परिवर्तन नभएको बताउनुभएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया