असोज ३, २०८३ शनिबार September 19, 2026

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

चीनको पहलमा पाकिस्तानले अमेरिका–इरानबीच शान्ति वार्ता पुनः सुरु गराउने प्रयास जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हङकङ, ११ साउन (रासस/एएफपी) :संयुक्त राज्य अमेरिका–इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र रणनीतिक ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनबारे वार्ता अघि बढ्ने आशा पलाएको छ । यससँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ ।

इरानमा १३ दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सप्ताहन्तमा सैन्य कारबाही रोकेको थियो । अमेरिकी राष्ट्रपतिका विशेष दूतले राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि केही समय र अवसर दिनुभएको बताउनुभएको छ ।

यसको प्रतिक्रियामा इरानले पनि क्षेत्रीय मुलुकमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ । घटनाक्रमले खाडी क्षेत्रमा पानीजहाजको आवतजावत तथा तेल उद्योगलाई केही राहत दिएको छ ।

इरानले ‘स्ट्रेट अफ हर्मुज’को ओमानी जलक्षेत्र हुँदै जाने पानीजहाजमाथि आक्रमण गरेपछि तनाव थप चर्किएको थियो । त्यसपछि कमजोर युद्धविराम भङ्ग हुँदै यसै महिना अमेरिका र इरानबीच पुनः सैन्य गतिविधि सुरु भएको थियो ।

तनावका कारण वासिङ्टन र तेहरानबीचको कूटनीतिक प्रयास प्रभावित भएको थियो । द्वन्द्व ‘स्टे«ट अफ हर्मुज’भन्दा बाहिरसमेत फैलिँदा इरानसमर्थित हुथी विद्रोहीले लालसागर प्रवेश गर्ने प्रमुख मार्ग बाब अल–मन्देब जलक्षेत्रमा साउदी पानीजहाजमाथि आक्रमण गरेका थिए ।

तनाव चर्किएसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको थियो । गत साता ब्रेन्ट कच्चा तेलको मूल्य मे यताकै पहिलोपटक प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको थियो । यद्यपि, लाल सागरमा पानीजहाजको आवतजावत जारी रहेको समाचारले शुक्रबार लगानीकर्ताको चिन्ता केही कम गरेको थियो ।

अमेरिकाले थप आक्रमण नगर्ने निर्णय गरेपछि तथा ‘स्ट्रेट अफ हर्मुज’को व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति भएको इरानले आइतबार बताएपछि तेल बजारमा थप राहत देखिएको हो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीका अनुसार वार्ता दुवै देशको सार्वभौम अधिकारको सम्मान गर्दै ‘स्ट्रेट अफ हर्मुज’बाट पानीजहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने ‘साझा सिद्धान्त र सञ्चालन संयन्त्र’ निर्माणमा केन्द्रित थियो ।

यसैबीच, चीनको पहलमा पाकिस्तानले अमेरिका–इरानबीच शान्ति वार्ता पुनः सुरु गराउने प्रयास गरिरहेको एक प्रतिवेदनमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया