बैङ्कक, २१ साउन (रासस\एएफपी) :म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ नागरिक नेताका रूपमा पहिलो पटक थाइल्यान्ड भ्रमणमा पुग्नुभएको छ । क्षेत्रीय कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने प्रयासका रूपमा हेरिएको उहाँको यस भ्रमणलाई म्यान्माको सैन्य नेतृत्व अन्तर्राष्ट्रिय समुदायमा पुनः स्वीकार्यता खोज्ने अभियानको महत्त्वपूर्ण चरण मानिएको छ ।
सन् २०२१ मा सैन्य ‘कू’ मार्फत निर्वाचित सरकार अपदस्थ गरी सत्ता कब्जा गर्नुभएका मिन आङ ह्लाइङलाई अप्रिल २०२६ मा विवादास्पद निर्वाचनपछि राष्ट्रपतिका रूपमा स्थापित गरिएको थियो । लोकतन्त्रसमर्थक समूह र पश्चिमी मुलुकहरूले उक्त निर्वाचनलाई सैन्य शासनलाई वैधता दिने प्रयासको संज्ञा दिएका छन् ।
बैङ्कक भ्रमणअघि उहाँले भारत, चीन र लाओसको पनि भ्रमण गरिसक्नुभएको थियो । थाइल्यान्डले द्विपक्षीय रूपमा तथा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) मार्फत म्यान्मासँगको सम्बन्ध सामान्यीकरणका लागि सक्रिय पहल गर्दै आएकाले यो भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
आसियानले म्यान्माको नेतृत्वलाई उच्चस्तरीय शिखर सम्मेलनबाट बाहिर राख्दै आएको भए पनि गत महिना बैङ्ककमा आयोजित विदेशमन्त्रीहरूको अनौपचारिक बैठकमा म्यान्माका विदेशमन्त्री सहभागी हुनुभएको थियो । यसलाई सम्बन्ध सुधारतर्फको प्रारम्भिक सङ्केतका रूपमा लिइएको छ ।
विश्लेषकहरूका अनुसार म्यान्मा पुनः आसियानको पूर्ण सदस्यका रूपमा सक्रिय हुन सके पश्चिमी मुलुकहरूसँग सम्बन्ध सुधार्ने वातावरण पनि बन्न सक्छ । यद्यपि म्यान्माले भारत, चीन, रुस तथा थाइल्यान्डबाट पहिले नै मान्यता प्राप्त गरिसकेको हुँदा आसियानसँगको सम्बन्ध पुनःस्थापना प्रतिष्ठासँग बढी जोडिएको विषय भएको टिप्पणी गरिएको छ ।
म्यान्माका स्वतन्त्र विश्लेषक डेभिड म्याथिसनले मिन आङ ह्लाइङका लागि आसियानमा पुनः सक्रिय उपस्थिति ‘प्रतिष्ठाको विषय’ भएको बताउनुभएको छ । तर उहाँको सरकारले आसियानले अघि सारेको सबै पक्षबीच संवादमार्फत हिंसा अन्त्य गर्ने ‘पाँच बुँदे सहमति’ कार्यान्वयन गर्न अझै अस्वीकार गर्दै आएको छ ।
मिन आङ ह्लाइङ बिहीबार बैङ्कक पुग्नुभएको पुष्टि उहाँको टोलीका एक स्रोतले गरेका छन् । विमान ट्र्याकिङ वेबसाइटहरूले पनि नेपिडोबाट उडेको विमान बैङ्ककमा अवतरण गरेको देखाएका छन् ।
भ्रमणका क्रममा उहाँलाई थाइल्यान्डको सरकारी भवनमा सम्मान गारद प्रदान गरिने तथा प्रधानमन्त्री अनुतिन चार्नविराकुलसँग भेटवार्ता हुने कार्यक्रम रहेको थाई अधिकारीहरूले बताएका छन् । उहाँले व्यापार मञ्च र सरकारी रात्रिभोजमा पनि सहभागिता जनाउने तथा श्रम सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
यद्यपि मानवअधिकारवादी समूहहरूले थाइल्यान्डले मिन आङ ह्लाइङलाई औपचारिक सम्मान दिन नहुने बताएका छन् । उहाँमाथि धेरै पश्चिमी मुलुकले प्रतिबन्ध लगाएका छन् भने मानवताविरुद्धका अपराधसम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालतले पनि खोजी गरिरहेको छ ।
विश्लेषकहरूका अनुसार थाइल्यान्डका लागि भने म्यान्मासँग सम्बन्ध सुधार्नु व्यावहारिक आवश्यकता पनि हो । दुई देशबीचको सीमाक्षेत्रमा म्यान्माको सेना र विद्रोही समूहबीचको द्वन्द्व फैलिँदै गएको छ, जसका कारण ठूलो सङ्ख्यामा शरणार्थी थाइल्यान्ड पुगेका छन् । सीमावर्ती क्षेत्रमा साइबर अपराध, ठगी सञ्जाल तथा अवैध लागूऔषध तस्करी पनि बैङ्ककका लागि बढ्दो चुनौती बनेका छन् ।
थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले म्यान्मासँगको छलफलमा साइबर ठगी सञ्जालविरुद्धको सहकार्य प्रमुख एजेन्डा रहने बताउनुभएको छ । उहाँले आङ सान सुकीलाई हालै अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिसँग भेट्न दिइएको घटनालाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै म्यान्मामा दिगो शान्ति र स्थिरताका लागि थप पहल हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।
नजरबन्दमा रहनुभएकी आङ सान सुकीले यसै साता अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिसँग भेट गर्नुभएको थियो । यो उहाँलाई सत्ताच्युत गरिएपछि पहिलो पटक कुनै विदेशी प्रतिनिधिसँग भएको भेट हो । त्यसअघि तीन वर्षअघि तत्कालीन थाई विदेशमन्त्री डन प्रमुदविनईले उहाँसँग निजी भेटवार्ता गर्नुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया