असोज १०, २०८३ शनिबार September 26, 2026

प्रधानमन्त्री बालेन सच्चिए कि खस्किए ?

प्रधानमन्त्री बालेन्द्रका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरू धमिलो हुँदै गइरहेको टिप्पणी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट अन्ततः पछि हट्नुभएको छ । विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले आज (सोमबार) नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लाग्नुभएको हो । भारतीय राजदूत नवीन श्रीवास्तवलाई आज बिहान ११ बजे भेट्ने तय भएको छ । त्यस्तै, चिनियाँ राजदूत चाङ माओमिङसँग आजै अपराह्न ३ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । मंगलबार नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमसँग भेटवार्ता गर्ने तय भएको छ ।

१३ चैतमा प्रधानमन्त्री बनेयता शाह र काठमाडौंस्थित राजदूतहरूबीच यो पहिलो व्यक्तिगत शिष्टाचार भेट हुनेछ । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने नीति लिनुभएको थियो । प्रधानमन्त्री शाहले सुरुमा राजदूतहरूसँग मात्र नभई भ्रमणमा आउने वरिष्ठ विदेशी अधिकारीहरूसँग पनि एक्लाएक्लै भेट नगर्ने अडान राख्नुभएको थियो । सोही क्रममा काठमाडौंस्थित अमेरिकी दूतावासले दक्षिण-मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर र दक्षिण-मध्य एसियाका लागि राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरसँगको भेटघाटका लागि गरेको अनुरोध प्रधानमन्त्री शाहले अस्वीकार गर्नुभएको थियो । त्यस्तै, नेपाल भ्रमणमा आउनुभएकी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सलाई पनि प्रधानमन्त्री शाहले भेट दिनुभएन । प्रधानमन्त्री बालेनले भेट्न नमानेपछि भारतका विदेश सचिव विक्रम मिस्रीले आफ्नो नेपाल भ्रमण अन्तिम समयमा स्थगित गर्नुभएको थियो । चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई शुभकामना तथा बधाई दिन राजदूतहरूले समय माग पनि भेट्न अस्वीकार गर्नुभएको थियो ।

विगतमा मुलुकका राष्ट्र र सरकार प्रमुखले विदेशी कूटनीतिज्ञलाई सहजै भेट दिँदाको परिणाम राष्ट्रियता कमजोर बनेको प्रधानमन्त्री बालेनको तर्क थियो । यो विषयमा प्रधानमन्त्री हुनुअघि बालेनले विदेशी कूटनीतिकसँगको भेटवार्ता र ‘प्रोटोकल’ बारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो । त्यसैअनुरूप प्रधानमन्त्रीमा नियुक्त भएको चार महिनासम्म ‘प्रोटोकल’लाई नीति बनाएर विदेशी राजदूतलाई भेट्न अस्वीकार गरे पनि बालेन अहिले पूर्ववत् अडानबाट पछि हट्नुभएको हो ।

यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो । छुट्टाछुट्टै भेट्न गरेको आग्रहलाई अस्वीकार गर्नुभएका प्रधानमन्त्रीले चैत २५ गते एकैपटक सबै देशका राजदूतसँग सामूहिक भेटघाट गर्नुभएको हो । सोही क्रममा परराष्ट्र मन्त्रालयमार्फत नेपालको विदेश नीतिबारेमा पनि जानकारी गराउनुभएको थियो । सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधामन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । सामूहिक भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघका राजदूत तथा नियोग प्रमुखहरू उपस्थित थिए । त्यसपछि जेठ १२ गते प्रधानमन्त्री शाहले नेपालस्थित युरोपेली संघ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेमटवार्ता गर्नुभएको थियो ।

विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने नीति बनाए पनि प्रधानमन्त्री शाहले असार २३ मा एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गर्नुभएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाह र अध्यक्ष कान्दाबीच नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार विकास गरी तीनवटा विषयमा केन्द्रित भएर छलफल भएको थियो । यो भेटलाई प्रधानमन्त्रीको सचिवालयले कूटनीतिकभन्दा पनि विकास साझेदारका प्रमुखसँगको भेटवार्ताको रूपमा अर्थ लगाएको थियो । त्यसपछि प्रधानमन्त्री शाहले पहिलोपटक भारतीय र चिनियाँ राजदूतलाई एक्लाएक्लै भेट्न लाग्नुभएको हो । शाहले दुई साताअघि नै भारत र चीनका राजदूतलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण पछि धकेलिएको हो । भारत र चीनका राजदूतसँगको भेटघाटको कार्यसूची मुख्यतया परिचयात्मक हुने बताइएको छ । त्यसक्रममा राजदूतहरूले शाहलाई द्विपक्षीय सम्बन्धको अवस्थाबारे जानकारी गराउने र आफ्नो सरकारका तर्फबाट सन्देशहरू हस्तान्तरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री र राजदूतको बैठकमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू, सम्बन्धित महाशाखा प्रमुख र प्रधानमन्त्री कार्यालयका अधिकारीहरू पनि सहभागी हुनसक्ने बताइएको छ ।

प्रधानमन्त्री बालेन्द्रका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरू धमिलो हुँदै गइरहेको टिप्पणी हुँदै आएको छ । त्यसलाई सम्हाल्न सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनाल आफैँ सक्रिय भएका थिए । यो बीचमा सभापति लामिछानेले भारतको पाँच दिने भ्रमण गरिसक्नु भएको छ । परराष्ट्रमन्त्री खनालले भारत र चीनको भ्रमण गरिसक्नु भएको छ । सभापति लामिछाने चीन भ्रमणमा जाने तयारीमा रहनुभएको छ । अमेरिकामा हुन गइरहेको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुपर्नेमा प्रधानमन्त्री नजाने भएपछि परराष्ट्रमन्त्री खनाल आफैँ जाने तयारीमा रहनुभएको छ । प्रधानमन्त्री बालेन्द्रलाई भारतबाट भ्रमणका लागि निम्तो आएको छ । तर, हालसम्म प्रधानमन्त्रीले विदेश भ्रमणमा जाने मनस्थिति बनाउनुभएको छैन । आजदेखि सुरु हुने राजदूतहरूसँगको भेटघाटपछि प्रधानमन्त्रि शाह विदेश भ्रमण जाने वातावरण बन्ने अपेक्षा गरिएको छ ।

छिमेकी मुलुकका राजदूतहरूलाई एकैदिन भेट्ने निर्णयले नेपालका लागि दुवै मुलुकको समान महत्त्व रहेको सन्देश प्रधानमन्त्रीले दिन खोजेको दाबी गरिएको छ । समयतालिका भने पहिले भारत र त्यसपछि चीनसँग भन्ने सरकारको घोषित परराष्ट्र नीतिअनुरूप मिलाइएको छ । भोलिपल्ट (मंगलबार) कार्यवाहक अमेरिकी राजदूतलाई भेटर अमेरिका नेपालको अर्को महत्त्वपूर्ण मित्र भएको सन्देश दिन खोजेको हुनसक्ने कूटनीतिज्ञहरूले बताएका छन् । सरकारले सय दिन पूरा गरेपछि प्रधानमन्त्रीलाई सल्लाहकारहरूले उद्योगी–व्यवसायी, सञ्चारमाध्यमका प्रतिनिधिका साथै काठमाडौंस्थित राजदूतहरू लगायतलाई भेट्न सुझाव दिएका थिए । त्यसयता प्रधानमन्त्री शाहले व्यापारी, उद्योगी–व्यवसायीसँग लगातार छलफल गर्नुभएको छ । प्रधानमन्त्री शाहले केही दिन पहिले मधेसकेन्द्रित राजनीतिक दल र सांसदहरूसँग समेत छलफल गर्नुभएको थियो ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया