सुदूरपश्चिम, २५ साउनः सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन सबैलाई आग्रह गरेको छ । हाल मतदाता नामावलीमा नाम छुटेका, विवरण सच्याउनुपर्ने, बसाइँसराइ वा विवाहका कारण विवरण परिवर्तन भएका तथा मृत्यु भएका मतदाताको नाम अद्यावधिक गर्ने कार्य जारी रहेकाले समयमै यस प्रक्रियामा सहभागी हुन कार्यालयले आग्रह गरेको हो ।
आज धनगढीमा आयोजित वार्षिक समीक्षा तथा सरोकार भएकाहरुसँग अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख प्रेमराज भण्डारीले आयोगको निर्णयअनुसार आगामी भदौ १५ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा समावेश गर्ने गरी अद्यावधिक प्रक्रिया जारी रहने जानकारी दिनुभयो ।
उहाँले अनलाइन वा भौतिक रुपमा उपस्थित भएर नामावली अद्यावधिक गर्ने व्यवस्था रहेको बताउनुभयो । “मतदाता नामावली व्यवस्थापनलाई निर्वाचन कार्यालयमा सीमित नराखी स्थानीय तह र वडा कार्यालयसँगको समन्वयमा नागरिकको घरदैलो नजिक पु¥याउने योजना छ”, कार्यालय प्रमुख भट्टले भन्नुभयो,“स्थानीय पञ्जिकाधिकारीको समन्वयमा विवाह, बसाइँसराइ तथा मृत्यु भएका मतदाताको विवरण भिडाएर अद्यावधिक गर्ने काम पनि भइरहेको छ ।”
कार्यालयले यसअघि कैलालीका विभिन्न स्थानीय तहका १३ वटा वडा कार्यालयमा अनलाइन मतदाता नामावली प्रणालीसम्बन्धी सहजीकरण गरेको कार्यक्रममा जानकारी दिइयो । गोदावरी, गौरीगङ्गा, घोडाघोडी, बर्दगोरिया र टीकापुरका ती वडामा अनलाइन मतदाता नामावली दर्ता तथा अद्यावधिक प्रणालीबारे अभिमुखीकरण दिइएको थियो ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले आगामी निर्वाचनमा बढीभन्दा बढी नागरिकलाई सहभागी हुने गरी आवश्यक व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
नमुना मतदानसहित मतदाता शिक्षा
मतदाता नामावली दर्तालाई निर्वाचन शिक्षासँग जोडेर लैजान कार्यालयले नमुना मतदान जस्ता व्यवहारिक कार्यक्रमलाई समेत प्राथमिकता दिएको जनाएको छ । नमुना मतदानमा वास्तविक मतदान केन्द्रको जस्तै वातावरण तयार गरी मतदातालाई मतदाता परिचय, मतदान प्रक्रिया, मतपत्र प्रयोगदेखि मतदान गर्ने तरिकासम्मको व्यवहारिक अभ्यास गराउने गरिएको कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो । यसले विशेषगरी पहिलोपटक मतदान गर्ने युवा तथा निर्वाचन प्रक्रियाबारे अन्योलमा रहेका नागरिकको आत्मविश्वास बढाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
कार्यालयले विगतमा कैलालीका १२६ वटै वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी निर्वाचनसम्बन्धी सूचना तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । यस्तै, विभिन्न स्थानीय तहका २८ विद्यालय तथा शैक्षिक संस्थामा ४३ समूह परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइयो । त्यस क्रममा विशेष मतदाता शिक्षा दुई लाख तीन हजार ५३६ र निर्वाचन शिक्षा कार्यक्रमबाट दुई लाख छ हजार ५०८ जना लाभान्वित भएको जनाइएको छ ।
विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा मात्रै २८ हजार ५७३ जना नयाँ मतदाता दर्ता भएका थिए । तीमध्ये राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत २१ हजार ८५७ र कार्यालयमै जैविक विवरण सङ्कलन गरी छ हजार ७१६ जना दर्ता भएका थिए। सोही अवधिमा विवरण सच्याउने, मतदाता सार्ने तथा मृत्युका कारण नाम हटाउनेलगायत तीन हजार ६६५ वटा अद्यावधिक कार्य सम्पन्न भएका थिए । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया