काठमाडौँ, साउन २६ गते । नेपालका अधिकांश किसानले खेतीसम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान, कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे । तर अहिले अवस्था बिस्तारै बदलिँदै गएको छ । हातहातमा पुगेको स्मार्ट फोनले किसानलाई कृषि प्राविधिक, मौसमविद् र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ ।
भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पु¥याउन चुनौती भइरहेका बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो ।
काभ्रेपलाञ्चोक मन्डनदेउपुरका अग्रणी किसान राजन सापकोटा मौसम र बजारको जानकारी मोबाइल फोनबाटै लिएको बताउनुहुन्छ । “मेरा लागि मोबाइल एपै मेरो खेती गर्ने सल्लाहकार हुन्,” सापकोटाले भन्नुभयो । लामो समयदेखि कृषि अनुसन्धान तथा प्रसार क्षेत्रमा सक्रिय कृष्ण धितालका अनुसार नेपालमा एक जना कृषि प्राविधिकले औसतमा एक हजार ३३३ घरधुरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ । सीमित जनशक्तिका कारण सबै किसानसम्म प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन । “किसानको हातमा अहिले स्मार्ट फोन छ । त्यसैले कृषि सूचना प्रवाहको सबैभन्दा छिटो माध्यम मोबाइल एप बन्न सक्छ,” उहाँ भन्नुहुन्छ ।
पछिल्ला वर्षहरूमा नेपाल सरकारले पनि कृषि क्षेत्रमा डिजिटल प्रविधि प्रयोगलाई प्राथमिकता दिन थालेको छ । कृषि वन, पर्यावरण मन्त्रालयले सञ्चालनमा ल्याएको एमपिस एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ । यस प्रणालीमार्फत किसानले कृषि बजारको थोक मूल्य, बजार अनुसारको मूल्यको तुलना, कृषि उपजको मूल्य प्रवृत्ति, कृषि मौसम सल्लाह बुलेटिन, कृषि बजारको सल्लाह बुलेटिन र सम्पर्क गर्ने माध्यमबारे जानकारी पाउने छन् । सो एपमा कृषि कार्यक्रमको जानकारी, विभिन्न सरकारी सेवा तथा अनुदानसम्बन्धी सूचना, कृषि तथ्याङ्क र अन्य सेवामा पहुँच विस्तार गर्ने प्रयास भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । यसका अतिरिक्त विभिन्न डिजिटल प्लेटफर्मले पनि किसानलाई आवश्यक जानकारी उपलब्ध गराइरहेका छन् ।
उत्पादनका आधार
कृषि, वन तथा पर्यावरण मन्त्रालयमा कार्यरत वरिष्ठ कृषि प्रसार अधिकृत दीपक पौडेल कृषि उत्पादन वृद्धि गर्न मल, बिउ वा सिँचाइ जत्तिकै महत्वपूर्ण विषय सही सूचना भएको उल्लेख गर्नुभयो ।
“कुन समयमा कुन बाली लगाउने, कुन रोगको जोखिम छ, आगामी साताको मौसम कस्तो रहने छ, बजारमा मूल्य कति छ भन्ने जानकारीले किसानको निर्णय निर्धारण गर्छ,” उहाँ भन्नुहुन्छ । उहाँका अनुसार समयमै प्राप्त हुने सूचनाले उत्पादन लागत घटाउन र आम्दानी बढाउन मद्दत पु¥याउँछ । यसले घुसुवा बालीबाट किसानको आम्दानी बढाउनसमेत सहयोग मिल्ने उहाँ उल्लेख गर्नुभयो ।
क्षमता बढ्दै
धादिङका किसान रूपा सुवेदीले मोबाइल एप प्रयोग गर्न थालेपछि तरकारी बिक्रीमा फरक अनुभव गर्नुभएको छ । “पहिले व्यापारीले जे मूल्य भन्यो त्यहीमा बेच्नुपथ्र्यो,” उहाँ भन्नुहुन्छ, “अहिले कालीमाटीलगायतका बजारको मूल्य हेरेर मात्रै बिक्री गर्छु । बजार मूल्य थाहा भएपछि व्यापारीसँग कुरा गर्न सजिलो भएको छ ।” उहाँले आफ्ना किसान साथीलाई समेत तरकारीको मूल्यबारे कुरा गर्ने थलोका रूपमा मोबाइललाई लिएको उल्लेख गर्नुभयो । कृषि विज्ञहरूका अनुसार यस्ता डिजिटल उपकरणले किसान र बजारबिचको सूचना असमानता घटाइरहेका छन् । यसले किसानको सौदाबाजी क्षमता बढाउन सहयोग गरेको छ ।
जलवायुसँग जुध्न सहयोग
कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव बढिरहेका बेला मौसम र जोखिमसम्बन्धी सूचना दिने एपको महत्व पनि बढ्दै गएको छ । हाल नेपालमा दुई दर्जनभन्दा बढी कृषि एप प्रयोगमा भए पनि सबै एप प्रभावकारी रूपमा सञ्चालनमा छैनन् । कतिपय एप नियमित रूपमा अद्यावधिक नहुँदा प्रयोगकर्ता घट्ने गरेका छन् ।
कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउने सरकारी लक्ष्य हासिल गर्न यस्ता डिजिटल उपकरण प्रभावकारी माध्यम बन्न सक्ने देखिएको छ । किसानले सही सूचना, सही समयमा प्राप्त गर्न सके कृषि उत्पादन र आम्दानी दुवै बढ्ने अपेक्षा गरिएको छ ।गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया