ढाका, २९ साउन । बंगलादेशको सत्तारुढ दल बंगलादेश नेसनलिस्ट पार्टी, बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिर अब मुलुकको आगामी राष्ट्रपति बन्ने बाटोमा अघि बढेका छन्।
बिहीबार बिएनपीले उनलाई राष्ट्रपतिको निर्वाचनका लागि आफ्नो उम्मेदवारका रूपमा अघि सारेको छ।
बंगलादेशमा राष्ट्रपति जनताद्वारा प्रत्यक्ष रूपमा निर्वाचित हुँदैनन् । बरु, संसद् सदस्यहरूले राष्ट्रपति चयन गर्छन्। राष्ट्रपतिको निर्वाचनका लागि मतदान अगस्ट २० मा तोकिएको छ। फेब्रुअरीमा सम्पन्न आम निर्वाचनमा बीएनपीले संसद्मा दुई तिहाइ बहुमत हासिल गरेको हुनाले फखरुलको जित लगभग निश्चित मानिएको छ।
उनले सन् १९६० को दशकमा ढाका विश्वविद्यालयमा अर्थशास्त्रको अध्ययन गरे र सन् १९७२ मा ढाका कलेजमा प्राध्यापक भएका थिए । सन् २००१ मा उनले खालिदा जियाको नेतृत्वमा रहेको बीएनपी सरकारमा कृषि राज्यमन्त्रीका रूपमा काम गरेको अनुभव छ । पछि उनले नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।
फखरुलको राजनीतिक यात्रा झन्डै ६ दशक लामो छ। उनले सन् १९६० को दशकमा ढाका विश्वविद्यालयमा अध्ययन गर्दा विद्यार्थी राजनीतिमा संलग्नता सुरु गरेका थिए । सोही क्रममा उनी पूर्वी पाकिस्तान विद्यार्थी सङ्घसँग आबद्ध थिए।
सन् १९६९ मा राष्ट्रपति आयुब खान विरुद्ध भएको विशाल जनआन्दोलनका बेला उनले उक्त विद्यार्थी सङ्गठनको ढाका विश्वविद्यालय एकाइको अध्यक्षका रूपमा काम गरेका थिए । आफ्ना राजनीतिक गतिविधिका कारण उनी पक्राउ परे र जेल जीवन बिताउनु पर्यो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया