काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटि सच्याई आफ्नो विवरण अद्यावधिक गर्न मतदातालाई आग्रह गरेको छ। आयोगका अनुसार असोज १ गते मतदाता नामावली वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।
आयोगले सार्वजनिक गरेको सूचनाअनुसार नामावलीमा आफ्नो विवरण जाँच गरी त्रुटि भेटिए सम्बन्धित निर्वाचन कार्यालय वा आयोगको अनलाइन प्रणालीमार्फत सच्याउन निवेदन दिन सकिनेछ। निवेदनका आधारमा मतदाताको नाम, थर, उमेर, ठेगानालगायत विवरणमा रहेका त्रुटि सच्याइने आयोगले जनाएको छ।
यस्तै, एउटै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न तथा बसाइँसराइ वा विवाहका कारण स्थानीय ठेगाना परिवर्तन भएको भए सोहीअनुसार विवरण अद्यावधिक गर्न आयोगले आग्रह गरेको छ।
मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय र वस्तुगत बनाउने उद्देश्यले नियमित रूपमा नामावली अद्यावधिक गर्दै आएको आयोगले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया