भाद्र ८, २०८३ सोमबार August 24, 2026

युक्रेनलाई हवाई रक्षा जुटाउन युरोपेली समर्थक एकजुट

युक्रेनले पनि रुसका रसद तथा ऊर्जा पूर्वाधारमाथि लामो दूरीका आक्रमण बढाउदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

किएभ, ८ भदौ : रुसी हवाई आक्रमण तीव्र बन्दै गएपछि युक्रेनलाई थप हवाई रक्षा प्रणाली र क्षेप्यास्त्र उपलब्ध गराउने विषयमा प्रमुख युरोपेली समर्थक राष्ट्रहरू किएभमा भेला भएका छन् । बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले ‘कोएलिसन अफ द विलिङ’ को बैठकमार्फत युक्रेनलाई सैन्य सहयोग बढाउने तथा रुसमाथि दबाब कायम राख्ने प्रयास गर्न लागेका हुन् ।

बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार सम्हालेपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमणका क्रममा किएभ पुगेर बैठकको सहअध्यक्षता गर्नुहुनेछ । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टासहित अन्य नेताहरू पनि प्रत्यक्ष वा भर्चुअल रूपमा सहभागी हुने अपेक्षा गरिएको छ ।

रुसले पछिल्ला सातामा किएभलगायत युक्रेनी सहरमा ब्यालेस्टिक क्षेप्यास्त्रबाट आक्रमण बढाएको छ । अपार्टमेन्टलगायत नागरिक संरचनामा भएका आक्रमणमा दर्जनौँ मानिसको मृत्यु भएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले प्रत्येक ठूला आक्रमणपछि थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन सहयोगी राष्ट्रसँग आग्रह गर्दै आउनुभएको छ ।

युक्रेनले पनि रुसका रसद तथा ऊर्जा पूर्वाधारमाथि लामो दूरीका आक्रमण बढाएको छ । रुसी ई–कमर्स कम्पनी ओजोनका क्रास्नोडार र मखचकालास्थित गोदाममा आगलागी भएको कम्पनीले जनाएको छ । ड्रोन आक्रमणको जोखिमका कारण केही अन्य स्थलसमेत खाली गरिएको बताइएको छ । रुसी अधिकारीहरूले युक्रेनी ड्रोनको भग्नावशेष खस्दा दुई बालबालिकाको मृत्यु र नौ जना घाइते भएको जनाएका छन् ।

युक्रेनले सोमबार ३५औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । किएभ पुग्नुअघि प्रधानमन्त्री बर्नह्यामले न्यायपूर्ण र स्थायी शान्ति कायम नभएसम्म बेलायत युक्रेनको साथमा रहने बताउनुभएको छ ।

युक्रेनको हवाई रक्षा क्षमता बढाउन बेलायतले एससीएएलपी क्षेप्यास्त्रको स्थानीय उत्पादन तथा संयोजनमा सहयोग गर्ने भएको छ । युक्रेन र फ्रान्सलाई आवश्यक वर्गीकृत जानकारी उपलब्ध गराउन रक्षा कम्पनी एमबीडीसँग सहमति भएको बेलायतले जनाएको छ । फ्रान्सले पनि नयाँ इन्टरसेप्टर क्षेप्यास्त्र उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

युक्रेनका लागि हवाई रक्षा चुनौती भने बढ्दो छ । रुसका ब्यालेस्टिक क्षेप्यास्त्र तीव्र गतिमा प्रहार हुने भएकाले तिनलाई रोक्न कठिन हुने बताइएको छ । युक्रेन मुख्यतः अमेरिकी प्याट्रियट इन्टरसेप्टरमा निर्भर रहँदै आएको छ ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार सन् २०२३ मा युक्रेनले ६७५ वटा प्याट्रियट इन्टरसेप्टर पाएकोमा सन् २०२५ मा ३६४ वटा र सन् २०२६ मा हालसम्म २६४ वटा प्राप्त हुने अनुमान छ । आगामी जाडोका लागि कम्तीमा ३०० वटा आवश्यक रहेको उहाँले बताउनुभएको छ । रुसले मासिक करिब १०० वटा ब्यालेस्टिक क्षेप्यास्त्र उत्पादन गर्न सक्ने उहाँको दाबी छ ।

अमेरिका इरानसँगको युद्धका कारण क्षेप्यास्त्र अभावमा रहेकाले युक्रेनलाई ठूलो सङ्ख्यामा इन्टरसेप्टर उपलब्ध गराउन कठिनाइ भइरहेको छ । यसैबीच, ‘कोएलिसन अफ द विलिङ’ युद्धविरामपछि युक्रेनमा शान्ति सेना परिचालन गर्न इच्छुक देशहरूको समूहका रूपमा सुरु भए पनि अहिले युक्रेनलाई सैन्य सहयोग जुटाउने र रुसमाथि दबाब बढाउने प्रमुख मञ्चका रूपमा विकसित भएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकन प्रतिनिधिसँग प्रधानमन्त्रीले भेटे नभेटको बारेमा संसदमा प्रश्न
२०८३ भाद्र ८, सोमबार
युक्रेनलाई हवाई रक्षा जुटाउन युरोपेली समर्थक एकजुट
२०८३ भाद्र ८, सोमबार
सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्था बाफियामै स्पष्ट गर्न अर्थमन्त्रीको आग्रह
२०८३ भाद्र ८, सोमबार
नक्कली समाचार फैलाए गोबिन्दाले १०० करोडको मानहानी मुद्दा हाल्ने
२०८३ भाद्र ८, सोमबार
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत् उत्पादन परीक्षण जारी
२०८३ भाद्र ८, सोमबार
पृथ्वीराज मार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित
२०८३ भाद्र ८, सोमबार
१४औँ साग आगामी चैत तेस्रो साता पाकिस्तानमा हुने
२०८३ भाद्र ८, सोमबार