कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्था बाफियामै स्पष्ट गर्न अर्थमन्त्रीको आग्रह

सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ८ भदौः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंक ऐनमा मात्र राख्दा कानुनी विरोधाभास उत्पन्न हुने भएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मै स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले बाफियाको सम्बन्धित व्यवस्थामा संशोधन गर्न अर्थ मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रस्ताव पठाइसकेको जानकारी दिनुभयो । केही नेपाल ऐन संशोधन गर्ने विधेयकमार्फत बाफियाको दफा १८(१)(ड) मा आवश्यक संशोधन गर्ने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) को दफा १८ मा सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्था छ। दफा १८ को उपदफा (१) को खण्ड (ड) मा ‘बैंक वा वित्तीय संस्थाको सञ्चालक हुन प्रचलित कानूनबमोजिम नियमनकारी निकायले कानूनविपरीत कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको पाँच वर्ष अवधि व्यतीत नभएको’ व्यक्ति सञ्चालक हुन अयोग्य हुने व्यवस्था गरिएको छ ।

“राष्ट्र बैंक ऐनले लेखे पनि बाफियाले यसलाई सम्बोधन गरेन भने यो निष्प्रभावी हुन्छ । त्यसैले बाफियामै लेखेर जानुपर्नेछ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो ।

राष्ट्र बैंक ऐनमा मात्र संशोधन गर्दा पुनः बाफियासँग मिलाउनुपर्ने अवस्था आउने भएकाले सरकारले सम्बन्धित ऐनमै संशोधनको प्रक्रिया अघि बढाएको अर्थमन्त्रीले जानकारी दिनुभयो ।

समितिका सभापति कृष्णहरि बुढाथोकीलगायत समितिका सदस्यहरूले सर्वोच्च अदालतको फैसलापछि नसिहत पाएका व्यक्तिसमेत अयोग्य ठहरिनसक्ने अवस्था देखिएको भन्दै त्यसले बैंकिङ क्षेत्रमा गम्भीर समस्या सृजना गर्नसक्ने उहाँहरूले बताउनुभयो । उहाँहरूले राष्ट्र बैंक ऐनसँगै बाफियामार्फत समेत आवश्यक व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिले पनि सम्बन्धित विधेयकमै संशोधन गरेर जाने र बाफियामै व्यवस्था मिलाउने प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो।

समितिमा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल जारी छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २४, मंगलबार
भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै जनताका शत्रु हुन् : प्रेम सुवाल
२०८३ कार्तिक २४, मंगलबार
देउसी-भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन
२०८३ कार्तिक २३, सोमबार
परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता
२०८३ कार्तिक २३, सोमबार
एनपीएलमा काठमाडौं गोर्खाजको तेस्रो जित, लुम्बिनीको अपराजित यात्रा समाप्त
२०८३ कार्तिक २३, सोमबार
छ सयभन्दा बढी गाईको सामूहिक पूजा
२०८३ कार्तिक २३, सोमबार
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार