भाद्र ९, २०८३ मंगलबार August 25, 2026

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

रोगले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई कम गर्न विधेयक ल्याउनुपरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ८ भदौः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग नियन्त्रण गरी अर्थतन्त्रमा हुने अर्बौँको क्षति रोक्न सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मस्यौदा तयार गरिएको बताउनुभएको छ ।

राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा उक्त विधेयक सैद्धान्तिक छलफलका लागि पेस गर्दै मन्त्री चौधरीले रोगले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई कम गर्न विधेयक ल्याउनुपरेको बताउनुभयो । ‘बर्ड फ्लु’, ‘लम्पी स्किन’ जस्ता रोगले पशु निर्यातमा पनि समस्या भएकाले यो कानुन बनेपछि समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

चीनमा भैँसीको मासु निर्यात गर्ने सम्झौता भइसकेकामा सङ्क्रामक पशु रोगका कारण रोकिएको मन्त्री चौधरीले जानकारी दिनुभयो । यो कानुन बनेपछि पशु स्वास्थ्यका साथै मानव स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने आशा गरिएको उहाँले बताउनुभयो । सांसदका सुझावलाई समेटेर विधेयक अघि बढाइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

समितिका सभापति कृष्णबहादुर रोकायाले सांसदहरूले दिनुभएको सैद्धान्तिक सुझावलाई मन्त्रालयले अध्ययन गरी विधेयक अघि बढाउनुपर्ने बताउनुभयो । भदौ १० गते विषयविज्ञ र सरोकार भएका निकायका प्रतिनिधिलाई बोलाएर बैठक गरिने उहाँले जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रियसभाका सदस्य सुरेशकुमार आलेमगरले असङ्क्रामक रोगको विषय पनि विधेयकमा समेटिनुपर्ने बताउनुभयो । कानुन बनेपछि कार्यान्वयनका लागि बजेटको व्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सदस्य प्रेमप्रसाद दङ्गालले कृषिप्रधान देशमा दशकौँअघि आउनुपर्ने कानुन मस्यौदा भएर प्रक्रिया अघि बढेकाले अन्तरराष्ट्रियस्तरमा व्यापार बढाउने क्षेत्र पशुपालन फस्टाउने विश्वास व्यक्त गर्नुभयो । आर्थिक वर्ष २०७९/८० मा आएको लम्पी स्किनले रु ७९ अर्बको क्षति गरेको जनाउँदै उहाँले यो कानुन बनेपछि प्रभावकारी कार्यान्वयन भएमा समस्या समाधान हुने बताउनुभयो ।

सदस्य श्रीकृष्णप्रसाद अधिकारीले क्षतिपूर्तिको विषयलाई कानुनी रूपमा सरलीकरण गरी राख्नुपर्ने बताउनुभयो । सदस्य विष्णुबहादुर विश्वकर्माले रोग नियन्त्रणमा प्रदेश र स्थानीय तहको भूमिका पनि प्रष्ट बनाइनुपर्ने गरी व्यवस्था गर्न माग गर्नुभयो ।

सदस्य पदमबहादुर परियारले विधेयकमा ‘एनिमल बायो सेफ्टी स्ट्याण्डर्ड’ पनि थप्नुपर्ने बताउनुभयो । एकीकृत पशुरोग सूचना प्रणालीको विकास गर्ने गरी विधेयकमा व्यवस्था गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । सदस्य घनश्याम रिजालले २०७८ सालमा सैद्धान्तिक स्वीकृति पाएको विधेयक पाँच वर्ष थन्किएकाले अब कानुन बनाएर कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।

सदस्य भुवनबहादुर सुनारले पीडित किसानले क्षतिपूर्ति पाउने गरी कानुन बन्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । सदस्य धर्मेन्द्र पासवानले विधेयकलाई सङ्घीयताको मर्म बमोजिम परिमार्जन गर्न माग गर्नुभयो । सदस्य खम्बबहादुर खातीले पशु रोगका सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो । सदस्य अञ्जान शाक्यले कृषि अर्थतन्त्र बलियो हुने गरी कानुन बनाउनुपर्ने बताउनुभयो ।

मन्त्रालयका सहसचिव एवं पशु स्वास्थ्य महाशाखा प्रमुख रामानन्द तिवारीले कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २४ प्रतिशत र त्यसमध्ये पशुपालन क्षेत्रको चौथाइ योगदान रहेकाले व्यवस्थित गर्न विधेयक मस्यौदा गरिएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार
तिब्बती निर्वासित सरकारका राष्ट्रपतिको चेक गणतन्त्रका राजदूतसँग भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
एमालेका नेता बादल र रास्वपाकी सांसद इन्दिराले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
२०८३ भाद्र ८, सोमबार