काठमाडौं, १२ भदौ । रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग जुटिरहेका बेला अनधिकृत QR कोड तथा व्यक्तिगत बैंक खातामार्फत रकम संकलन भइरहेको भन्दै सरकारले सजग रहन अपील गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार सूचना जारी गर्दै विपद्को अवस्थामा हुने सम्भावित वित्तीय ठगीबाट जोगिन सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर तथा QR कोडमा मात्र सहयोग रकम जम्मा गर्न आग्रह गरेको हो। सहयोग गर्नुअघि खाताको नाम ‘PRIME MINISTER DISASTER RELIEF FUND’, ‘DISASTER RELIEF FUND’ वा ‘PDPU’ मध्ये रहेको यकिन गर्न सरकारले अनुरोध गरेको छ।
सरकारले विपद्का नाममा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग र उचित व्यवस्थापन सुनिश्चित गर्न आधिकारिक माध्यमबाट मात्र रकम उपलब्ध गराउन आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी सूचनामा जथाभावी QR कोड वा व्यक्तिगत खातामा रकम नपठाउन स्पष्ट आग्रह गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया