मंग्सिर २, २०८३ बुधबार November 18, 2026

मध्यपूर्वको बढ्दो तनावले तेल बजार र सेयर बजार प्रभावित

ऊर्जाको मूल्यवृद्धिले यसअघि नै उच्च रहेको मुद्रास्फीतिमा थप दबाब सिर्जना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बैङ्कक, १६ भदौ : इरानसँगको द्वन्द्वमा एक महिनाभन्दा बढी समयसम्म उल्लेखनीय भीडन्त नभए पनि पुनः हिंसा भड्किएपछि भविष्यलाई लिएर अनिश्चितता बढेको छ । यसको प्रभाव विश्व बजारमा परेको छ । मङ्गलबार तेलको मूल्य करिब दुई प्रतिशतले बढ्दा विश्वभरका सेयर बजारमा गिरावट आएको छ ।

अनलाइन ‘फास्ट फेसन’ खुद्रा विक्रेता ‘शिन’को सेयर मङ्गलबार हङकङमा कारोबार सुरु भएलगत्तै १० प्रतिशतसम्म घटेको थियो । कारोबार बन्द हुँदा यसको मूल्य चार प्रतिशतले घटेको थियो ।

ब्रेन्ट कच्चा तेलको मूल्य दुई प्रतिशतले बढेर प्रतिब्यारेल ९२ दशमलव ३५ अमेरिकी डलर पुगेको छ । आइतबार अमेरिकाले इरानी टापुमा रहेका रकेट प्रक्षेपण केन्द्रमा आक्रमण गरेपछि सोमबार पनि तेलको मूल्य दुई दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकाले ती प्रक्षेपण केन्द्रबाट ‘स्ट्रेट अफ हर्मुज’मा समुद्री सुरुङ बम (माइन) बिछ्याउने तयारी भइरहेको दाबी गरेको थियो ।

त्यसको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी अखडामा क्षेप्यास्त्र प्रहार गरेको थियो । ती क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाइएको छ ।

द्वन्द्वका कारण ‘स्ट्रेट अफ हर्मुज’ हुँदै हुने आवागमन सीमित भएको छ । विश्वको कुल तेल ढुवानीको करिब २० प्रतिशत यही मार्ग हुँदै हुने गरेको छ । द्वन्द्व सुरु भएयता तेलको मूल्य उच्च रहँदा पेट्रोलियम पदार्थदेखि ढुवानी गरिने सामानसम्मको मूल्य बढेको छ । अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य दुई दशमलव पाँच प्रतिशतले बढेर प्रतिब्यारेल ८७ दशमलव ८४ डलर पुगेको छ ।

युरोपेली बजारको प्रारम्भिक कारोबारमा जर्मनीको ड्याक्स सूचकाङ्क एक दशमलव एक प्रतिशतले घटेर २५,९८२ दशमलव २८ मा झरेको छ । पेरिसको क्याक ४० सूचकाङ्क शून्य दशमलव चार प्रतिशतले घटेर ८,३०३ दशमलव ६५ मा सीमित भएको छ । बेलायतको एफटीएसई १०० सूचकाङ्क पनि एक दशमलव एक प्रतिशतले घटेर १०,७०२ दशमलव २५ मा आएको छ ।

एसियाली सेयर बजारमा हङकङको हाङ सेङ सूचकाङ्क शून्य दशमलव नौ प्रतिशतले घटेर २५,३२९ दशमलव ७३ मा झरेको छ भने सांघाई कम्पोजिट सूचकाङ्क शून्य दशमलव दुई प्रतिशतले घटेर ३,९७९ दशमलव ८९ मा सीमित भएको छ ।

टोकियोको निक्केई २२५ सूचकाङ्कले सुरुवाती वृद्धि गुमाउँदै शून्य दशमलव प्रतिशतको गिरावटसहित ६६,२१५ दशमलव ३४ मा झरेको छ । दक्षिण कोरियाको कोस्पी सूचकाङ्क भने शून्य दशमलव दुई प्रतिशतले बढेर ६,८३५ दशमलव ८० पुगेको छ । अस्ट्रेलियाको एसएन्डपी÷एएसएक्स २०० सूचकाङ्क शून्य दशमलव एक प्रतिशतले घटेर ९,०६६ दशमलव ७० मा आएको छ ।

यसबीच ऊर्जा क्षेत्रका कम्पनीको सेयर मूल्य भने बढेको थियो । एक्सन मोबिलको सेयर दुई दशमलव सात प्रतिशत र सेभ्रोनको दुई दशमलव एक प्रतिशतले बढेको थियो ।

ऊर्जाको मूल्यवृद्धिले यसअघि नै उच्च रहेको मुद्रास्फीतिमा थप दबाब सिर्जना गरेको छ । मुद्रास्फीति अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको दुई प्रतिशतको लक्ष्यभन्दा अझै माथि छ । ऊर्जाको मूल्यवृद्धिले घरायसी खर्च र उपभोक्ता विश्वासमा दबाब बढाउनुका साथै फेडरल रिजर्भको ब्याजदर नीतिसम्बन्धी निर्णयलाई थप जटिल बनाएको छ ।

फेडरल रिजर्भको आगामी कदमबारे लगानीकर्ताको अपेक्षालाई नजिकबाट प्रतिबिम्बित गर्ने दुई वर्षे ट्रेजरी बन्डको प्रतिफल सोमबार चार दशमलव ३४ प्रतिशतमा स्थिर रह्यो । यो शुक्रबारको अन्त्यमा पनि सोही स्तरमा थियो । सन् २०२६ को सुरुवातमा भने उक्त प्रतिफल करिब तीन दशमलव ५० प्रतिशत थियो । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार