काठमाण्डाैंः राम्रो काम, आकर्षक कमाइ । चिनेजानेकै व्यक्तिले गरेको अफरले नवलपरासी र दाङका १९ किशोरलाई लोभ्यायो । धेरै खर्च नलाग्ने र राम्रो कमाइ हुने आश्वासन पाएपछि ती किशोर नयाँदिल्ली जान तयार भए । दलालले १२ असोजमा रातारात उनीहरूलाई सीमापार गराए । दलालले १३ देखि १७ वर्षका नेपाली किशोरलाई पारि पुर्याएर खाजा खुवाउँदै थिए । नेपाल आउँदै गरेका एक यात्रुले देखेर उनीहरूबारे ‘आफन्त नेपाल’ नामक संस्थामा खबर गरिदिए ।
लगत्तै भारतीय प्रहरीले सूचना पायो । दिल्लीस्थित महिला आयोगको सहयोगमा आफन्त नेपालका कर्मचारीले किशोरहरूलाई लैजाँदै गरेका दलाललाई पिछा गरे । दलाल समूह उत्तरप्रदेशको गाजियावादबाट पक्राउ पर्यो । दिल्ली महिला आयोग र आफन्त नेपालको जाहेरीमा भारतीय अदालतमा दलाल समूहविरुद्ध मुद्दा चलिरहेको छ । दलालबाट जोगाइएका नवलपरासी पूर्व र पश्चिमका १८ तथा दाङका एक किशोरलाई भारतीय प्रहरीको निगरानीमा बालगृहमा राखिएको छ । उनीहरूमध्ये अधिकांश विपन्न र सीमान्तकृत समुदायका छन् ।
यस्तै, गत चैत दोस्रो साता कास्कीकी १७ वर्षीया किशोरी चिनजानकी एक महिलाको घरमा गएकी थिइन् । ती महिलासँगै बसेर उनले खाजा खाइन् । त्यसलगत्तै उनी बेहोस भइन् । होस खुल्दा उनी अन्जान सहरको सडकमा थिइन् । भारतीय प्रहरीको सहयोगमा उनलाई भारत राजस्थानबाट त्यही साता उद्धार गरियो ।‘पहिले चक्कर लाग्यो, त्यसपछि बेहोस भएँछु, होस खुल्दा अन्जान सहरको सडकमा रहेँछु,’ किशोरीले उद्धार टोलीसँग भनेकी छिन् । उनलाई कुन उद्देश्यले राजस्थान पुर्याइयो र अलपत्र छाडियो भन्ने खुलेको छैन । उनले अझै घर आउन पनि पाएकी छैनन् ।
कोरोना महामारी र लकडाउनको समयमा उनीजस्तै पर्वतकी १४ वर्षीया र बाँकेकी १७ वर्षीया किशोरीलाई बिहार पटनामा सडकबाटै उद्धार गरिएको छ । भारत कानपुरबाट उद्धार गरिएकी अर्की १५ वर्षीय किशोरीको त अहिलेसम्म नेपालको ठेगानासमेत खुल्न सकेको छैन ।
कोभिड–१९ महामारीका कारण सीमामा सुरक्षाकर्मीको पहरेदारी कमजोर बनेको मौकामा मानव तस्करको सक्रियता बढेको यी केही उदाहरण हुन् । विद्यालय बन्द भएपछि घर, गाउँमा फुर्सदिला बनेका बालबालिका मानव तस्करको निसानामा परेका छन् । नयाँपत्रिका दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया