वासिङ्टन, १९ भदौ (रासस/एएफपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको अमेरिकी सहयोगको रकम युरोपेली समूह राष्ट्रहरूबाट फिर्ता माग्ने बताउनुभएको छ ।
ट्रम्पले लामो समयदेखि युरोपेली राष्ट्रहरूसँग युक्रेनलाई पश्चिमी सहयोगको लागतको ठूलो हिस्सा वहन गर्न माग गर्दै आउनुभएको छ । चार वर्ष पहिले युक्रेनमा रुसले आक्रमण गरेदेखि रूस र युक्रेनबीच युद्ध जारी छ ।
उहाँले भन्नुभयो, “यदि मात्र उनीहरूलाई भनिएकोे भए युक्रेन र नाटोलाई निःशुल्क दिइएको सयौँ अर्ब डलरको ठूलो हिस्सा युरोपले तिरेको हुन्थ्यो ।”
“केही ढिलो भए पनि हामी त्यो पैसा माग्नेछौँ,” राष्ट्रपति ट्रम्पले बिहीबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्नुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भुक्तानी कुन देशले गर्नुपर्ने हो भन्ने कुरा भने प्रष्ट छैन ।
पोस्टमा राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धमा अमेरिकी सैन्य बलमा गोलीबारूदको अभाव छ भन्ने रिपोर्टहरूलाई पनि अस्वीकार गर्नुभयो ।
“हामीसँग मध्यमदेखि उच्च श्रेणीका गोलीबारी लगभग असीमित मात्रामा छन्,” उहाँले लेख्नुभएको छ, “गोलाबारूद ‘यसपहिले कहिल्यै नगरिएको स्तरमा’ उत्पादन भइरहेका छन् ।”
ट्रम्पले भन्नुभयो, “वासिङ्टनले भण्डारण बढाइरहेको छ र आकस्मिक अवस्थाका लागि तयारी गरिरहेको छ तर अस्थायी रूपमा विदेशमा हतियार बिक्री स्थगन गरेको छ ।”
“हामी अरूलाई बेच्नुको सट्टा आँफैका लागि गोलीबारी लिइरहेका छौँ, तर सहयोगीहरूलाई पुनः यो बिक्री चाँडै सुरु हुनेछ,” उहाँले थप्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया