काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार राति २०:०० बजे सम्म १ हजार ३ सय ५१ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १ सय ६९ जना, नुवाकोटमा १ सय ९६ जना, धादिङमा ६९ जना, चितवनमा ३ सय ६२ जना, गोरखामा ७४ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २२ जना र नवलपरासी पश्चिम २ सय २१ जना गरी १ हजार ३ सय ५१ जनाको शव फेला परेको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ४४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार १ सय ८१ र आफन्तका १ हजार १ सय ९५ गरी कुल २ हजार ३ सय ७६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार २ सय ९० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ३ हजार ९ सय ९२ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार १ सय ९० जना व्यक्तिहरूलाई राखिएको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया