प्योङयाङ। अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु गरेकै दिन उत्तर कोरियाले दोस्रो अत्याधुनिक नौसैनिक विध्वंसक (डिस्ट्रोयर) सेवामा प्रवेश गराएको छ।
यससँगै उत्तर कोरियाली नेतृत्वले आफ्नो आणविक प्रतिरोध क्षमतालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले आइतबार पूर्वी बन्दरगाह सहर वोनसनमा आयोजित विशेष समारोहमा ‘काङ कोन’ नामक विध्वंसकलाई नौसेनामा औपचारिक रूपमा समावेश गराएको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन्।
सो समारोहमा उनकी किशोरी छोरी पनि सहभागी थिइन्, जसलाई दक्षिण कोरियाली जासुसी संस्थाले किमको सम्भावित उत्तराधिकारीका रूपमा हेर्दै आएको छ।
समारोहलाई सम्बोधन गर्दै किमले आणविक हतियारसहितका युद्धपोतले उत्तर कोरियाको आणविक प्रतिरोध क्षमतालाई अझ विविध र व्यावहारिक बनाउने बताए।
समुद्री रक्षा तथा सम्भावित युद्ध रोक्नका लागि शक्तिशाली र भरपर्दो आणविक क्षमता निर्माणमा जोड दिँदै उनले भने, “यस कदमले हाम्रा शत्रुहरूको चिन्ता निश्चित रूपमा अझ गहिरो हुनेछ।”
उत्तर कोरियाले गत जुन महिनामा सेवामा प्रवेश गराएको ‘चो ह्योन’ र नयाँ ‘काङ कोन’ दुवै करिब पाँच हजार टन क्षमताका विध्वंसक युद्धपोत हुन्। उत्तर कोरियाली दाबी अनुसार यी दुवै पोत आणविक क्षमतायुक्त क्षेप्यास्त्रहरूले सुसज्जित छन्।
त्रिपीय सैन्य अभ्यास र उत्तर कोरियाको आपत्ति
यसैबीच अमेरिका, दक्षिण कोरिया र जापानले दक्षिण कोरियाको जेजु टापुनजिक पाँचदिने ‘फ्रिडम एज’ संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्। दक्षिण कोरियाले यो अभ्यास पूर्ण रूपमा रक्षात्मक रहेको र उत्तर कोरियाको बढ्दो आणविक खतराविरुद्ध संयुक्त प्रतिक्रिया क्षमता अभिवृद्धि गर्नु यसको मुख्य उद्देश्य रहेको स्पष्ट पारेको छ।
उत्तर कोरियाले भने यस सैन्य अभ्यासलाई अमेरिकाको निरन्तर शत्रुतापूर्ण नीतिको रूपमा टिप्पणी गर्दै कडा आलोचना गरेको छ। यसअघि अमेरिका र दक्षिण कोरियाले आफ्नो वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यास निर्धारित समयभन्दा छ दिन अगावै समाप्त गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सो अभ्यास ‘पर्याप्त रूपमा घटाउन’ निर्देशन दिएको बताएका थिए।
तर किमकी बहिनी तथा उत्तर कोरियाकी वरिष्ठ अधिकारी किम यो जोङले अभ्यासको समय छोट्याउँदैमा यसको ‘उत्तेजक र आक्रामक प्रकृति’ नबदलिने प्रतिक्रिया दिएकी थिइन्। त्यसलगत्तै उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्रहरू परीक्षण स्वरूप प्रक्षेपण गरेको थियो।
किमले अमेरिकाले आफ्नो ‘शत्रुतापूर्ण नीति’ त्यागेर उत्तर कोरियालाई आणविक हतियारधारी राष्ट्रको हैसियत दिएमा मात्र वार्तामा फर्कन सकिने सर्त राख्दै आएका छन्।
सन् २०१९ मा सीमित आणविक निशस्त्रीकरणको बदलामा आर्थिक प्रतिबन्ध फुकुवा गर्ने विषयमा सहमति हुन नसक्दा दुई देशबीचको कूटनीतिक संवाद भङ्ग भएको थियो। हाल उत्तर कोरियाको द्रुत गतिमा विकसित आणविक कार्यक्रमका साथै रुस र चीनसँगको प्रगाढ बन्दै गएको सम्बन्धका कारण किम वार्तामा थप बलियो स्थितिमा पुगेको विश्लेषकहरूको ठम्याइ छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया