सियोल, भदौ २३ गते । दक्षिण कोरियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ०.६ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । दोस्रो त्रैमासिकको आर्थिक वृद्धि जुलाई २३ मा सार्वजनिक गरिएको प्रारम्भिक अनुमानकै स्तरमा कायम रहेको हो ।
पहिलो त्रैमासिकमा अर्थतन्त्र १.८ प्रतिशतले तीव्ररूपमा विस्तार भएपछि दोस्रो त्रैमासिकमा पनि वृद्धि स्वस्थ स्तरमा स्थिर भएको छ । गत वर्षको अन्तिम त्रैमासिकमा भने वास्तविक कुल गार्हस्थ्य उत्पादन ०.१ प्रतिशतले घटेको थियो । निर्यातमा आधारित दक्षिण कोरियाली अर्थतन्त्रको प्रमुख आधार मानिएको निर्यात अप्रिलदेखि जुनसम्मको अवधिमा अघिल्लो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढेको छ ।
अर्धचालक, मेसिनरी तथा उपकरणको बलियो मागका कारण निर्यात वृद्धि भएको हो । सोही अवधिमा मोटरगाडी तथा औद्योगिक उपकरणको खरिद बढेसँगै आयात पनि ०.७ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा निजी उपभोग ०.४ प्रतिशतले बढेको छ । वस्तु तथा सेवाको उपभोगमा भएको वृद्धिले निजी खर्च बढाउन सहयोग गरेको हो ।
स्वास्थ्य बिमा सुविधामा सरकारी खर्च बढेका कारण सरकारी खर्च पनि ०.१ प्रतिशतले वृद्धि भएको छ । अनुसन्धान तथा विकास र सफ्टवेयर विकासमा भएको वृद्धिका कारण बौद्धिक सम्पत्ति क्षेत्रमा लगानी ३.४ प्रतिशतले बढेको छ । मेसिनरी, विशेष गरी अर्ध चालक उत्पादनमा प्रयोग हुने उपकरणमा लगानी विस्तार भएपछि औद्योगिक संरचना तथा उपकरणमा लगानी ०.२ प्रतिशतले बढेको छ ।
तर निर्माण तथा पूर्वाधार सम्बन्धी आयोजनामा सुस्तता आएका कारण निर्माण क्षेत्रमा लगानी ०.१ प्रतिशतले घटेको छ । दोस्रो त्रैमासिकमा नाममात्रको कुल गार्हस्थ्य उत्पादन अघिल्लो त्रैमासिकको तुलनामा ९.२ प्रतिशतले वृद्धि भएको छ । वार्षिक आधारमा हेर्दा दोस्रो त्रैमासिकमा नाम मात्रको कुल गार्हस्थ्य उत्पादन २६.४ प्रतिशतले बढेको छ ।
यो सन् १९७९ को तेस्रो त्रैमासिकयताकै अर्थात ४७ वर्षयताकै उच्च वृद्धि दर हो । देशभित्र र विदेशमा व्यक्ति तथा व्यवसायले आर्जन गरेको कुल आम्दानी मापन गर्ने नाममात्रको कुल राष्ट्रिय आम्दानी पनि अप्रिलदेखि जुनसम्मको अवधिमा अघिल्लो तीन महिनाको तुलनामा ८.८ प्रतिशतले बढेको छ । देशभित्र उत्पादन भएका सबै वस्तु तथा सेवाको मूल्यमा भएको परिवर्तन मापन गर्ने कुल गार्हस्थ्य उत्पादन मूल्य सूचकांक दोस्रो त्रैमासिकमा वार्षिक आधारमा २१.९ प्रतिशतले बढेको छ । रासस/सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया