भाद्र २७, २०८३ शनिबार September 12, 2026

बाढी प्रभावितका लागि मनोपरामर्शदाता परिचालित : मुख्यमन्त्री किरण थापा

बाढीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सदगद्का लागि प्रतिशव रु २५ हजारका दरले सहयोग उपलब्ध गराएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ख्वप (भक्तपुर), २७ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले हाल १६ जना मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएका जानकारी गराउनुभयो ।

मुख्यमन्त्री थापामगरले रसुवाको विनाशकारी बाढीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकताअनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनुभयो । बाढी पहिरोका कारण सात हजारभन्दा बढी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो ।

यही भदौ १० गते रसुवामा बाढी गएलगत्तै प्रदेश सरकारले स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापामगरको भनाइ छ । उहाँका अनुसार विपद्का कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

प्रदेश सरकारले बाढीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सदगद्का लागि प्रतिशव रु २५ हजारका दरले सहयोग उपलब्ध गराएको उहाँले बताउनुभयो । उहाँका अुनसार अवरुद्ध सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट विपद् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया