असोज २, २०८३ शुक्रबार September 18, 2026

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

प्योङयाङ र वासिङ्टनबिच संवाद गराउन सियोलले सहजीकरणको प्रयास जारी राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, असोज २ गते । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्पष्टरूपमा उत्तर कोरियासँग वार्ता गर्न चाहनुभएको बताउँदै प्योङयाङ र वासिङ्टनबिच संवाद गराउन सियोलले सहजीकरणको प्रयास जारी राख्ने बताउनुभएको छ ।

राष्ट्रपति लीले शुक्रबार ट्रम्प उत्तर कोरियाली नेता किम जोङ-उनसँग संवाद गर्न इच्छुक रहेको स्पष्ट देखिएको बताउनुभयो । उहाँले आफूले पनि राष्ट्रपति ट्रम्पलाई वार्तामा सहभागी हुन आग्रह गरिरहेको जानकारी दिनुभयो । ट्रम्पले यस वर्षको अन्त्यसम्म किमसँग भेट गर्ने योजना रहेको बताउँदै पहिलो कार्यकालमा स्थापित सम्बन्धलाई पुनः सक्रिय बनाउन खोजिरहनुभएको छ ।

ट्रम्पले उत्तर कोरियासँग ५७ वटा ‘अत्यन्त शक्तिशाली’ आणविक हतियार रहेको दाबी गर्नुभएको छ भने सियोलको अनुमानमा त्यहाँ ८० देखि १२० वटा आणविक हतियार छन् । रुसबाट पछिल्ला वर्षमा महत्वपूर्ण सहयोग प्राप्त गरिरहेको उत्तर कोरियाले भने ट्रम्पको प्रस्तावप्रति हालसम्म स्पष्ट प्रतिक्रिया दिएको छैन ।

राष्ट्रपति लीले वार्ताको सम्भावना कठिन भए पनि असम्भव नभएको बताउँदै त्यसलाई वास्तविकतामा परिणत गर्न सबै सम्भव प्रयास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । दक्षिण कोरिया र अमेरिकाले गत महिना वार्षिक उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यासको छोटो संस्करण आयोजना गरेका थिए ।

यसैबिच, राष्ट्रपति लीले इरान युद्धमा दक्षिण कोरियाले कुनै सैन्य हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ । हर्मुज जलघाँटीमा सम्भावित तैनाथीबारे चर्चा भइरहे पनि आफ्ना व्यापारिक जहाज र तेल आपूर्ति मार्गको सुरक्षाका लागि आवश्यक न्यूनतम गतिविधि मात्र गरिने उहाँले बताउनुभयो । “हामीले गैर-संलग्नता र गैर-हस्तक्षेपको सिद्धान्तलाई समर्थन गर्दै आएका छौँ र त्यसलाई निरन्तर अघि बढाउने छौँ”, उहाँले भन्नुभयो ।

अमेरिकाले दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ । राष्ट्रपति ट्रम्पले इरान युद्धमा दक्षिण कोरियाले सहयोग नगरेको विषयमा गुनासो गर्नुभएको छ । यसैबिच, दक्षिण कोरियाले अमेरिकी उच्च आयात शुल्कबाट बच्न गत वर्ष भएको सम्झौता अनुसार अमेरिकामा तीन खर्ब ५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । त्यस सम्बन्धी परियोजना र अन्तिम सर्तबारे भने दुई देशबिच वार्ता जारी रहेको राष्ट्रपति लीले बताउनुभयो । रासस/एएफपी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया