जेनेभा, असोज ३ गते । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेयता सयौँ सर्वसाधारण तथा युद्धबन्दी यौनहिंसा र यातनाको सिकार भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । अभिलेखीकरण गरिएका अधिकांश घटनामा रुसी अधिकारी सङ्लग्न रहेको राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार, फेब्रुअरी २४, २०२२ देखि यस वर्षको जुलाई अन्त्यसम्म यौनहिंसाका एक हजार चार घटनाको अभिलेख गरिएको छ । तीमध्ये ८९ प्रतिशत घटनाका लागि रुसी अधिकारीलाई जिम्मेवार ठहर्याइएको छ । यसमा रुसी सशस्त्र बल, कारागार सेवा र राष्ट्रिय सुरक्षा सेवाका सदस्य सङ्लग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।
बाँकी ११ प्रतिशत घटनामा युक्रेनी अधिकारी सङ्लग्न रहेको जनाउँदै राष्ट्रसङ्घले दुवै पक्षलाई घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ । बीस पृष्ठको प्रतिवेदन यौनहिंसाका पीडित तथा बाँचेका व्यक्तिसँग गरिएका गोप्य अन्तर्वार्ता, अदालतका कागजात र आधिकारिक अभिलेखमा आधारित छ ।
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले प्रतिवेदनमा उल्लेखित घटनाको व्यापकता चिन्ताजनक रहेको बताउनुभएको छ । उहाँले युक्रेनमा जारी हिंसाका कारण यस्ता घटना अझै भइरहेको हुनसक्ने चिन्ता व्यक्त गर्नुभएको छ । युक्रेनस्थित राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयका टोली प्रमुख ड्यानियल बेलले जेनेभामा पत्रकारसँग कुरा गर्दै अभिलेखीकरण गरिएका घटना वास्तविकताको सानो अंश मात्र भएको बताउनुभयो ।
अनुसन्धान कर्ताले दुवै पक्षबाट रिहा गरिएका बन्दीमध्ये करिब १० प्रतिशतसँग मात्र अन्तर्वार्ता गर्न सकेको र रुसी नियन्त्रणमा रहेका युक्रेनका क्षेत्रमा पहुँच नपाएको उहाँले जानकारी दिनुभयो । प्रतिवेदनमा यौनहिंसाका अधिकांश पीडित पुरुष रहेको, विशेष गरी हिरासतमा रहेका व्यक्ति बढी प्रभावित भएको उल्लेख छ । कब्जामा रहेका युक्रेनी क्षेत्रमा भने महिला र बालबालिका पनि प्रभावित भएको जनाइएको छ ।
प्रतिवेदन अनुसार अभिलेख गरिएका घटनामा बलात्कार, सामूहिक बलात्कार, यातना, विद्युतीय झट्का तथा यौन प्रकृतिका अन्य अपमानजनक व्यवहार समावेश छन् । राष्ट्रसङ्घले अभिलेख गरेको बलात्कारका घटनामा सबैभन्दा कम उमेरकी पीडित चार वर्षीया बालिका र सबैभन्दा बढी उमेरकी ८२ वर्षीया महिला रहेको जनाएको छ । दुवै घटनामा रुसी अधिकारीलाई जिम्मेवार ठहर्याइएको छ ।
त्यस्तै, रुसी तथा अन्य विदेशी युद्धबन्दीमाथि युक्रेनी पक्षबाट भएको भनिएका उल्लङ्घनका घटनामध्ये झण्डै आधामा यौनहिंसाको धम्कीसमेत समावेश रहेको प्रतिवेदनमा उल्लेख छ । उच्चायुक्त टर्कले अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै युक्रेनबाट आफ्ना सैन्य बल फिर्ता गर्न रुसलाई आग्रह गर्नुभएको छ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया