असोज ६, २०८३ मंगलबार September 22, 2026

बढुवा भएका चार सैनिक अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान

बढुवासँगै संगठनभित्रको नेतृत्व तथा जिम्मेवारीसमेत थप विस्तार हुने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली सेनामा बढुवा भएका चार जना सैनिक अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति महारथी अशोकराज सिग्देलले बढुवा भएका सैनिक अधिकारीहरूलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

३१ भदौमा सहायक रथीबाट उपरथीमा बढुवा भएका सोवेन्द्र सिंह महत र प्रकाश थापालाई प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गर्नुभयो ।

त्यस्तै, महासेनानीबाट सहायक रथीमा बढुवा भएका मदन जंग राणा तथा प्राविधिक महासेनानीबाट सहायक रथीमा बढुवा भएका भरतलाल श्रेष्ठलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

दर्ज्यानी चिह्न प्रदान समारोहमा प्रधानसेनापति सिग्देलले बढुवा भएका अधिकारीहरूलाई नयाँ जिम्मेवारीअनुसार व्यावसायिक दक्षता, अनुशासन र जिम्मेवारीबोधका साथ कार्यसम्पादन गर्न आग्रह गर्नुभएको थियो ।

नेपाली सेनामा बढुवा भएका अधिकारीले औपचारिक रूपमा नयाँ दर्जा धारण गरेपछि सोहीअनुसारको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ । दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम सैनिक अधिकारीहरूको पदोन्नतिलाई औपचारिकता दिने महत्वपूर्ण प्रक्रिया मानिन्छ ।

बढुवा भएका अधिकारीहरूले आगामी दिनमा नेपाली सेनाले दिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूको बढुवासँगै संगठनभित्रको नेतृत्व तथा जिम्मेवारीसमेत थप विस्तार हुने अपेक्षा गरिएको छ ।

नेपाली सेनाले सैनिक अधिकारीहरूको कार्यसम्पादन, योग्यता, अनुभव तथा संगठनात्मक आवश्यकताका आधारमा समय–समयमा बढुवा गर्दै आएको छ । बढुवा भएपछि नयाँ जिम्मेवारीअनुसार अधिकारीहरूलाई विभिन्न कमान्ड, प्रशासनिक तथा प्राविधिक जिम्मेवारीका साथ स्थान बिशेष सरुवा गर्ने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया