काठमाडौँ, ७ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा उहाँले न्युयोर्कमा रहेको महावाणिज्य दूतावासको अवलोकन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । त्यसक्रममा मन्त्री खनाल महावाणिज्यदूत दधिराम भण्डारीद्वारा आयोजित ‘ब्रिफिङ’ कार्यक्रममा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा महावाणिज्य दूतावासबाट सम्पादन भइरहेका कार्य, सेवा प्रवाह तथा नेपाली समुदायसँग सम्बन्धित विषयमा जानकारी प्रस्तुत गरिएको थियो । सो अवसरमा मन्त्री खनालले विदेशस्थित नेपाली नियोगहरूले नेपालको राष्ट्रिय हित प्रवर्द्धन, नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवा तथा नेपालसँगको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तारमा निर्वाह गर्दै आएको भूमिकाका बारेमा जानकारी लिनुभएको थियो ।
कार्यक्रममा सहभागी अधिकारीहरूले महावाणिज्य दूतावासका गतिविधि, आगामी कार्ययोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराएका थिए । मन्त्री खनालले नेपाली नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन तथा नेपालको हित प्रवर्द्धनमा निरन्तर सक्रिय रहन आवश्यक समन्वय र सहकार्यमा जोड दिनुभएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया