काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयमा श्रेष्ठलाई शपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा ऊर्जामन्त्री श्रेष्ठले नवनियुक्त कार्यकारी निर्देशकलाई प्रणाली बनाएर निष्ठापूर्वक काम गर्न निर्देशन दिएका छन् । उनले मन्त्रालय तथा मातहतका निकायसँग उच्च समन्वय कायम गरी काम गर्न पनि सुझाव दिएका छन् ।
मन्त्री श्रेष्ठले भोटेकोशी बाढीका कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा कायममुकायम कार्यकारी निर्देशकका रूपमा श्रेष्ठले गरेको कार्यसम्पादनप्रति धन्यवादसमेत दिएका छन् ।
मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले दीर्घायु कुमार श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
श्रेष्ठ यसअघि प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए र गत वैशाखमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए ।
शपथ लिएसँगै श्रेष्ठले प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा औपचारिक जिम्मेवारी सम्हालेका छन् । पदभार ग्रहणका क्रममा उनले ऊर्जा सन्तुलन कायम गर्ने रणनीति, गुणस्तरीय विद्युत् सेवा र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । साथै, सुनकोशी–३ को डिजाइन अध्ययनका लागि कमिटी गठन गर्ने विषयलाई पहिलो निर्णयका रूपमा अघि बढाउने जानकारी दिएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया