याङ्गुन (म्यान्मा), ७ असोज (रासस/एएफपी): म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङले सन् २०२१ मा सत्ताच्युत गरी हिरासतमा राखिभएकी पूर्वनेता आङ सान सुकीप्रति आफू ‘अत्यन्त उदार’ रहेको दाबी गर्नुभएको छ । अमेरिकी पत्रिका ‘टाइम’ लाई दिएको अन्तर्वार्तामा उहाँले सुकीको अवस्थाबारे पुनर्विचार हुनसक्ने सङ्केतसमेत गर्नुभएको छ ।
मिन आङ ह्लाइङले सन् २०२० को निर्वाचनमा धाँधली भएको दाबी गर्दै सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गर्न सेनाको नेतृत्व गर्नुभएको थियो । त्यसयता सुकी विभिन्न अभियोगमा हिरासतमा रहनुभएको छ । अधिकारवादी समूहहरूले ती अभियोग सत्ता नियन्त्रणमा राख्ने उद्देश्यबाट प्रेरित भएको बताउँदै आएका छन् ।
“म उहाँप्रति अत्यन्त उदार छु”, उहाँले भन्नुभएको छ । उहाँले राजनीतिक अवस्था थप बिग्रिन नदिन सम्भव सबै प्रयास गरिएको दाबी गर्नुभएको छ । यसै वर्ष अप्रिलमा सैन्य प्रमुखबाट अवकास लिएर राष्ट्रपति बन्नुभएका उहाँमाथि म्यान्माको अन्तर्राष्ट्रिय एक्लोपन अन्त्य गर्न कूटनीतिक प्रयास अघि बढाउन दबाब छ । यसबीच धेरै मुलुकले ८१ वर्षीया सुकीको अवस्थाप्रति चासो व्यक्त गर्दै आएका छन् ।
विश्लेषकहरूका अनुसार गृहयुद्ध र सशस्त्र प्रतिरोधबीच अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्न मिन आङ ह्लाइङले सुकीको नजरबन्द खुकुलो पार्ने सम्भावनालाई उपयोग गर्न खोजिरहनुभएको हुन सक्छ । गत अगस्टमा थाइल्यान्ड भ्रमणअघि उहाँको कार्यालयले सुकीले रेडक्रसका एक वरिष्ठ अधिकारीसँग भेट गरेको दुर्लभ तस्बिर सार्वजनिक गरेको थियो ।
सुकीलाई माफी दिने विषयमा सोधिएको प्रश्नमा मिन आङ ह्लाइङले त्यो ‘उहाँमा निर्भर’ हुने बताउँदै पुनर्विचारको आधार देखिएमा अवस्था परिवर्तन हुनसक्ने सङ्केत गर्नुभएको छ । गत अप्रिलमा उहाँकै आदेशमा सुकीलाई जेलबाट नेपिडोस्थित नजरबन्दमा सारिएको थियो ।
सेनाको कडा नियन्त्रणमा भएको निर्वाचनमा सुकीको पार्टीलाई सहभागी हुन नदिइएको र असहमत पक्षका व्यक्तिलाई जेलमा राखिएको भन्दै आलोचना भएको थियो । त्यसपछि गठन भएको नागरिक प्रशासनलाई विश्लेषकहरूले सेनाको प्रभावमा रहेको सरकारका रूपमा व्याख्या गरेका छन् ।
मिन आङ ह्लाइङले भने म्यान्माको संस्कृति, परम्परा र सामाजिक अवस्थासँग मेल खाने लोकतान्त्रिक प्रणाली आवश्यक रहेको बताउनुभएको छ । उहाँले ‘टाइम’ सँग भन्नुभयो, “लोकतन्त्रका विभिन्न रूप छन् र म्यान्माले आफ्नै संस्कृति तथा परम्परासँग मेल खाने लोकतान्त्रिक प्रणाली सुनिश्चित गर्नेछ ।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया