असोज ८, २०८३ बिहिबार September 24, 2026

ट्रम्प-सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

ताइवानसम्बन्धी विषय पनि दुई देशबीचको संवेदनशील विषयका रूपमा वार्तामा उठ्ने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार ह्वाइट हाउसमा हुने वार्तामा व्यापार, प्रविधि, कृत्रिम बौद्धिकता, महत्त्वपूर्ण खनिज तथा क्षेत्रीय विषय प्रमुख रूपमा उठ्ने भएका छन् । दुवै पक्षले अमेरिका–चीन सम्बन्धमा प्रतिस्पर्धा कायम रहे पनि संवादलाई निरन्तरता दिने प्रयास गरिरहेका छन् ।

वार्ताअघि अमेरिका र चीन व्यापार युद्धविरामलाई दुई महिना थप गरी आगामी जनवरी १० सम्म कायम राख्न सहमत भएका छन् । यसअघि युद्धविराम नोभेम्बर १० मा समाप्त हुने तय थियो । दुवै देशबीच दुर्लभ माटो तथा महत्त्वपूर्ण खनिजको आपूर्ति, उन्नत प्रविधि र चिप्ससम्बन्धी विषयमा समेत मतभेद रहँदै आएको छ ।

कृत्रिम बौद्धिकतासम्बन्धी विषय पनि वार्ताको नयाँ क्षेत्र बनेको छ । राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने कृत्रिम बौद्धिकतासम्बन्धी घटनाबारे दुवै पक्षबीच सूचना आदानप्रदान गर्ने संयन्त्र निर्माणका विषयमा छलफल हुनसक्ने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

इरानको विषयमा अमेरिकाले चीनसँग आफ्नो प्रभाव प्रयोग गरी द्वन्द्व अन्त्यका लागि तेहरानलाई प्रोत्साहित गर्न आग्रह गर्दै आएको छ । चीन भने इरानसँगको आर्थिक सम्बन्ध र मध्यपूर्वमा जारी द्वन्द्वका विषयमा आफ्नै धारणा राख्दै आएको छ ।

ताइवानसम्बन्धी विषय पनि दुई देशबीचको संवेदनशील विषयका रूपमा वार्तामा उठ्ने अपेक्षा गरिएको छ । चीनले ताइवानसँग सम्बन्धित विषयमा आफ्नो चासो स्पष्ट रूपमा राख्दै आएको छ भने अमेरिकाले ताइवानलाई सुरक्षासम्बन्धी सामग्री उपलब्ध गराउँदै आएको छ । राष्ट्रपति सीले त्यस्तो हतियार बिक्री रोक्न आग्रह गर्दै आउनुभएको छ ।

व्यापार र सुरक्षा विषयमा मतभेद रहे पनि दुवै पक्षले सम्बन्ध थप तनावपूर्ण हुन नदिन संवाद कायम राख्न चाहेका छन् । विश्लेषकहरूका अनुसार यसपटकको वार्तामा ठूलो सम्झौताभन्दा विद्यमान व्यापार सहमति कायम राख्ने तथा संवेदनशील विषयमा संवाद अघि बढाउने प्रयास हुनसक्छ । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया