असोज १४, २०८३ बुधबार September 30, 2026

युद्धको असरले इरानी मुद्रा रियाल कमजोर बन्दै

दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने र सर्वसाधारणमाथि आर्थिक दबाब थपिने जोखिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान । मध्यपूर्वमा जारी युद्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा फेरि कमजोर भएको छ । मङ्गलवार तेहरानमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको थियो । यो रियालको अहिलेसम्मकै सबैभन्दा कमजोर अवस्था हो ।

यसअघि सेप्टेम्बर २ मा एक अमेरिकी डलर बराबर २२ लाख रियाल पुगेको थियो । त्यसको २७ दिनपछि रियालले फेरि नयाँ न्यून विन्दु कायम गरेको हो । युद्ध सुरु भएयता इरानी मुद्रा लगातार दबाबमा रहँदै आएको छ ।

इरानको अर्थतन्त्र लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धको असरमा छ । इरानी तेलमाथि लगाइएको अमेरिकी प्रतिबन्धले देशको विदेशी मुद्रा आम्दानीमा असर गरेको छ । युद्ध सुरु भएपछि अमेरिकी प्रतिबन्ध र इरानी तेलमाथिको नाकाबन्दी थप कडा भएकाले आर्थिक समस्या झन् बढेको छ ।

मुद्रा कमजोर हुँदा इरानमा आयात हुने वस्तु महँगो हुन सक्छन्। यसले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने र सर्वसाधारणमाथि आर्थिक दबाब थपिने जोखिम हुन्छ ।

यसैबीच, इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्ताको सम्भावना पनि देखिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले होर्मुज जलडमरूमध्य खोल्ने विषयमा भइरहेका छलफल थप गम्भीर बनेको बताउनुभएको छ ।

होर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो । युद्धका कारण यस क्षेत्रमा तनाव बढ्दा विश्व बजारमा तेलको आपूर्ति र मूल्यमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ ।

अराघ्चीका अनुसार हालको छलफल मुख्य रूपमा होर्मुज जलडमरूमध्यमै केन्द्रित छ । उहाँले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर न्यूयोर्कबाट फर्कनुअघि पाकिस्तान र कतारका मध्यस्थकर्तासँग भेटवार्ता गर्नुभएको थियो ।

कतारका मध्यस्थकर्ताहरूले चाँडै अमेरिकी पक्षसँग छलफल गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । यसले इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्तालाई अघि बढाउने प्रयास भइरहेको देखाएको छ ।

यसैबीच, इरानी इस्लामिक क्रान्तिकारी गार्डका प्रमुख प्रवक्ताले अमेरिकी नागरिकलाई युद्धविरुद्ध सडकमा उत्रिएर विरोध प्रदर्शन गर्न आह्वान गर्नुभयो ।

इरानी मुद्रा कमजोर हुनु, आर्थिक प्रतिबन्ध थपिनु र युद्धका कारण व्यापार तथा तेल आपूर्तिमा अनिश्चितता बढ्नुले इरानको अर्थतन्त्रमा थप दबाब परेको छ । आगामी दिनमा युद्ध र इरान–अमेरिकाबीचको वार्ताको अवस्थाले देशको आर्थिक स्थितिमा महत्वपूर्ण प्रभाव पार्न सक्ने देखिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार