नेपालगन्ज, असोज १७ गते । बाँकेको सबैभन्दा पिछडिएको मानिने नरैनापुर गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार तथा विद्यालयको नियमित अनुगमनका लागि पालिकाभित्रका सबै माध्यमिक विद्यालयहरुलाई डिजिटल प्रणालीमा आबद्ध गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले पालिकाभित्रका सबै सामुदायिक तथा धार्मिक माध्यामिक विद्यालयमा शिक्षकको अनलाइन हाजिरी, सीसीटीभी निगरानी तथा शैक्षिक व्यवस्थापन सूचना प्रणाली—ईएमआईएस लागू गरिएको बताउनुभयो ।
उहाँका अनुसार डिजिटल प्रणालीले शिक्षक तथा कर्मचारीको उपस्थिति अभिलेख व्यवस्थित गर्नुका साथै विद्यालयका शैक्षिक तथा प्रशासनिक गतिविधिको अनुगमनमा सहजता हुनेछ ।
यसैक्रममा गाउँपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीलाई ईएमआईएसका पूर्ण सुविधाको प्रयोगसम्बन्धी तालिमसमेत दिएको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई व्यवस्थित गर्ने अभियान अनुसार यी कार्यहरु अघि बढाइएको जनाउनुभयो ।
अध्यक्ष शाहका अनुसार गाउँपालिकाले आफ्नो प्रशासनिक कामकाजलाई समेत कागजविहीन प्रणालीतर्फ अघि बढाएको छ । पहिलो चरणमा सूचना प्रविधि, शिक्षा र प्रशासन शाखामा डिजिटल कार्यप्रणाली लागू गरिएको छ ।
यसैगरी, आन्तरिक राजस्व कार्यालय नेपालगन्जसँगको सम्झौतापछि गाउँपालिकाले स्थायी लेखा नम्बर—प्यान र करचुक्ता प्रमाणपत्रलगायतका करदाता सेवा स्थानीय तहमै उपलब्ध गराउन थालेको छ । गाउँपालिकाले डिजिटल प्रणालीलाई क्रमशः समग्र सेवा प्रवाहमा विस्तार गर्ने योजना बनाएको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया