असोज १७, २०८३ शनिबार October 3, 2026

कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने

अब सहमहामन्त्रीको भूमिकामा रहेर पार्टीमा थप योगदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुने महाधिवेशनमा उनले सहमहामन्त्रीका लागि आफ्नो दावेदारी प्रस्तुत गर्ने तयारी गरेका हुन्।

शिवाकोटी कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचन प्रक्रियामार्फत केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। गत पुसमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्यमा चयन भएका थिए।

सहमहामन्त्री पदमा आफ्नो दावेदारी स्वाभाविक रहेको बताउँदै शिवाकोटीले राजनीतिलाई चलायमान बनाउन व्यक्तिको वृत्ति विकास पनि आवश्यक हुने बताएका छन्। उनले अब सहमहामन्त्रीको भूमिकामा रहेर पार्टीमा थप योगदान गर्ने इच्छा रहेको बताएका छन्।

कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको प्रमुखका रूपमा समेत शिवाकोटीले काम गरेका थिए। पार्टीको इतिहास र राजनीतिक दस्तावेज संरक्षणका लागि उनले पुस्तकालयमा महत्वपूर्ण पुस्तक तथा सामग्री संकलन गर्नुका साथै विभागमा सदस्य थपेर गतिविधिलाई विस्तार गरेका थिए। उनले पार्टी अध्ययन र बहसका लागि विभिन्न फोरमसमेत सञ्चालन गरेका थिए।

तर, जेन–जी आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालयमा भएको आगजनीबाट पुस्तकालयमा संकलित महत्वपूर्ण पुस्तक तथा दस्तावेज नष्ट भएका थिए। त्यसक्रममा प्रजातन्त्र सेनानीका संघर्ष र योगदानसँग सम्बन्धित सामग्रीसमेत जलेर नष्ट भएको शिवाकोटीले बताउँदै आएका छन्।

प्रजातन्त्र सेनानीहरूको योगदानलाई अभिलेखीकरण गर्ने अभियानलाई निरन्तरता दिँदै उनले आफ्ना हजुरबुबा नन्दप्रसाद शिवाकोटीको नाममा ‘नन्दप्रसाद जानुका फाउन्डेसन’ स्थापना गरेका छन्। फाउन्डेसनले हालसम्म तीनवटा पुस्तक प्रकाशन गरिसकेको छ। गत महिना मात्रै ‘दोलखाका लोकनायकहरू’ नामक पुस्तक सार्वजनिक गरिएको थियो।

कांग्रेस राजनीतिमा सक्रिय हुनुअघि शिवाकोटी पत्रकारितामा थिए। तत्कालीन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सम्बन्धित चर्चित ७० करोड रुपैयाँ प्रकरणबारे समाचार लेखेपछि उनी चर्चामा आएका थिए। उक्त प्रकरणपछि तत्कालीन सभामुख महरा र सञ्चारमन्त्री बाँस्कोटाले आ–आफ्नो पद छाडेका थिए।

नेपाल प्रेस युनियनको महासचिव बनेपछि उनी कांग्रेसको मूलधारको राजनीतिमा सक्रिय भएका हुन्। गत प्रतिनिधिसभा निर्वाचनमा उनी दोलखाबाट कांग्रेसका उम्मेदवार बनेका थिए।

पत्रकारिताका क्रममा भ्रष्टाचारविरुद्ध तथा सुशासनको पक्षमा कलम चलाएका शिवाकोटीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन्। उनी कांग्रेसको १५औँ महाधिवेशनका लागि दोलखाबाट महाधिवेशन प्रतिनिधिसमेत चयन भइसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Jitiya festival fosters mutual respect, harmony: President Paudel
२०८३ असोज १७, शनिबार
केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने
२०८३ असोज १७, शनिबार
मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग
२०८३ असोज १७, शनिबार
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार