कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेटवार्ता

जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यलगायतका साझा चासोका विषयमा विचार आदानप्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ९ कात्तिकः सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यलगायतका साझा चासोका विषयमा विचार आदानप्रदान भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

सो अवसरमा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि सरकारले हरसम्भव प्रयास गरेको उल्लेख गर्दै विपद्को कठिन घडीमा अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आइपियू) को १५३औँ महासभामा नेपालका तर्फबाट प्रस्तुत ‘जलवायुसम्बन्धी विपद्को सामना गर्न तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल’ विषयक आपत्कालीन एजेन्डा दुई तिहाइभन्दा बढी मतसहित पारित भएको जानकारी गराउनुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण विपद्को उच्च जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी तथा उत्थानशीलता सुदृढ गर्न अन्तरराष्ट्रिय र अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सभामुख अर्यालले जलवायुजन्य विपद्को सामना गर्न अनुदानमा मात्र निर्भर नभई आर्थिक तथा प्राविधिक क्षमता भएका राष्ट्रले जिम्मेवारीपूर्वक सहकार्य र सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत अनुदान सहयोगमा मात्र सीमित नराखी लगानी तथा आर्थिक साझेदारी अभिवृद्धितर्फ अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न तथा लगानीकर्ताको मनोबल उच्च राख्न आवश्यक नीतिगत र कानुनी सुधारका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

सभामुख अर्यालले अमेरिकी संसद्मा रहेका संसदीय ककस तथा नेपाल–अमेरिका संसदीयमैत्री समूहबीच निरन्तर सहकार्य र संवादलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संसदीय भ्रमण तथा आदानप्रदानले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र संसदीय कूटनीति प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै अमेरिकी प्रतिनिधिमण्डललाई नेपाल भ्रमण गरेकोमा धन्यवाद दिनुभयो ।

सो अवसरमा अमेरिकी संसदीय प्रतिनिधिमण्डलले भोटेकोशीको बाढीबाट नेपालले भोग्नुपरेको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गरेको थियो । प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले समृद्ध नेपाल भ्रमणले आफूहरुलाई नयाँ ऊर्जा थपेको उल्लेख गर्दै प्रतिनिधिमण्डलले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध सुमधुर तथा विश्वासमा आधारित रहेको बताएको थियो ।

प्रतिनिधिमण्डलले नेपालको आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासमा निरन्तर सहयोग गर्न र दुई देशबीचको संसदीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन इच्छुक रहेको धारणा व्यक्त गरेको थियो ।

भेटका अवसरमा प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र संसदीय सुनुवाइ समितिका सभापतिसमेत सहभागी हुनुहुन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
२०८३ कार्तिक १०, मंगलबार
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार
लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
२०८३ कार्तिक १०, मंगलबार
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
२०८३ कार्तिक १०, मंगलबार
सौराहामा पर्यटकको चहलपहल बढ्यो
२०८३ कार्तिक १०, मंगलबार