काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका जिल्ला तथा प्रदेश तहको अधिवेशन सम्पन्न गर्न नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्ति जारी गर्दै बाँकी रहेका जिल्ला तथा प्रदेशमा तोकिएको कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको हो। समितिका अनुसार हिमाली तथा पहाडी जिल्लामा मंसिर २४ गतेदेखि २७ गतेभित्र अधिवेशन सम्पन्न गर्नुपर्नेछ।
त्यस्तै, अधिवेशन हुन बाँकी रहेका अन्य जिल्लाका लागि पुस ४ र ५ गते अधिवेशनको मिति तोकिएको छ। सातवटै प्रदेशको अधिवेशन भने पुस १० गतेदेखि १८ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न भएको थियो। त्यसक्रममा विभिन्न कारणले जिल्ला तथा प्रदेश तहका अधिवेशन सम्पन्न हुन सकेका थिएनन्।
बाँकी रहेका स्थानमा पार्टीको संगठनात्मक संरचनालाई पूर्णता दिन केन्द्रीय कार्यसमितिसँगको समन्वयमा नयाँ कार्यतालिका तयार गरिएको निर्वाचन समितिले जनाएको छ।
समितिले जिल्ला तथा प्रदेशमा खटिएका निर्वाचन अधिकृतलाई सम्बन्धित तहका सभापतिसँग आवश्यक परामर्श गरी तोकिएको कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्न तथा गराउन निर्देशन दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया