काठमाडौंः सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आआफ्ना गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन्।
यसै क्रममा इटहरीमा आयोजित दाहाल नेपाल पक्षीय भेलाले अबको लडाइँ वारपार गर्ने खालको हुनुपर्ने निचोड निकालेको छ । इटहरीको एक होटलमा मोरङ जिल्लाभरिका प्रदेश कमिटी सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भेलाले अध्यक्ष एवं प्रधानमन्त्री ओली असहिष्णु बन्दै गएको र फरक मत राख्नेप्रति अनुदार भएकाले अब मिलेर जान नसक्ने निचोड निकालेको छ ।
भेलाले ओली पक्षलाई कित्ताकाट गरेरै अघि बढ्नुपर्ने र कुनै हालतमा उनीसँग मिलेर जान नसकिने निष्कर्ष निकालेको जानकारी सहभागी एक नेताले दिए । भेलामा ओली पक्षविरुद्ध पूर्वएमालेका नेता आक्रामक ढंगले प्रस्तुत भएका थिए। पूर्वमाओवादीका नेताहरूले भने मिल्न सकिन्छ भने त्यहीअनुसार अघि बढ्नुपर्ने धारणा राखेका थिए।
‘पूर्वएमालेका नेताहरू आक्रामक भएर प्रस्तुत भए र अब ओली पक्षसँग मिलेर जानै नसक्ने निष्कर्ष निकाले,’ भेलामा सहभागी पूर्वमाओवादी पक्षका एक नेताले भने, ‘पहिलो चरणमा प्रदेश किमिटी सदस्य बसेर भेला भए पनि अब दोस्रो चरणमा तल्लो तहसम्म भेला र प्रशिक्षण गर्ने टुंगो लागेको छ।’ नागरिक दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया