असार २३, २०८२ सोमबार July 7, 2025

कोरोना बिमाका नाममा जनतामाथि ज्यादती : कम्पनीले महिनौंसम्म भुक्तानी नदिँदा बिमा समिति मूकदर्शक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः २ कात्तिकमा कोरोना पोजेटिभ देखिएपछि भक्तपुर ठिमीका सुजन श्रेष्ठले होम आइसोलेसनमा नै बसेर उपचार गरे । दोस्रोपटक १८ कात्तिकमा स्वास्थ्य परीक्षण गर्दा पनि उनलाई पोजेटिभ नै देखियो । तेस्रोपटक २५ कात्तिकमा गरिएको परीक्षणमा भने रिपोर्ट नेगेटिभ आयो ।

श्रेष्ठलाई पोजेटिभ देखिनेबित्तिकै उनका आफन्तले अनलाइनमार्फत कोरोना बिमा दाबीका लागि प्रक्रिया सुरु गरेका थिए । शिखर इन्स्योरेन्समा १ लाख रुपैयाँको कोरोना बिमा गरेका उनको परिवारले ५ कात्तिकमा नै अनलाइनमार्फत बिमा दाबी गरिदिएका थिए । कोरोनामुक्त भएर सबै कागजपत्र कम्पनीमा बुझाएको महिना दिन पुग्दा पनि अहिलेसम्म भुक्तानी भएको छैन । उनले भने, ‘न त कम्पनीले कागजपत्र पुगेन भनेर सम्पर्क गरेको छ, न त दाबी भुक्तानी नै गरेको छ ।’

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीलाई १३ कात्तिकमा कोरोना पोजेटिभ देखियो । होम आइसोलेसनमा नै उपचार गरेर १४ दिनपछि कोरोनामुक्त भएका उनले आइएमई जनरल इन्स्योरेन्समा १ लाखको कोरोना बिमा गराएका थिए ।

५ मंसिरमा उनले दाबीका लागि प्रक्रिया सुरु गरे पनि कम्पनीले हालसम्म भुक्तानी गरेको छैन । ‘कम्पनीले मलाई गत मंगलबार सम्पर्क गरेको थियो । कागजपत्र अगाडि बढेको छ, एक–दुई दिनमा भुक्तानी हुन्छ भनेको थियो । तर, मैले पाएको छैन,’ उनले भने ।

तारकेश्वर नगरपालिकाका मधुजंग पाण्डेलाई ८ असोजमा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेर उनी २७ असोजमा निको भए । युनाइटेड इन्स्योरेन्समा ५० हजारको कोरोना बिमा गरेका उनले कोरोनामुक्त भएपछि २९ असोजमा बिमा दाबी भुक्तानी प्रक्रिया सुरु गरे । तर, उनले पनि अहिलेसम्म भुक्तानी पाएका छैनन् । उनले भने, ‘बिमा रकमका लागि प्रक्रिया सुरु गरेकै दुई महिना पुग्न लाग्यो । तर, अहिलेसम्म रकम पाएको छैन ।’

भक्तपुरका इमान बटालालाई गत २९ असोजमा कोरोना संक्रमण देखियो । आफूलाई पोजेटिभ देखिएपछि उनले श्रीमती र छोरीको पनि परीक्षण गराए । परीक्षणमा उनीहरूलाई पनि कोरोना पोेजेटिभ देखियो । १५ कात्तिकमा गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ देखियो । बटालाले कोरोनाको जोखिमलाई मध्यनजर गरी पूरै परिवारको नै युनाइटेड इन्स्योरेन्समा १–१ लाख रुपैयाँको कोरोना बिमा गराएका थिए ।

कोरोनामुक्त भएपछि १८ कात्तिकमा उनले बिमा रकमका लागि प्रक्रिया अगाडि बढाए । तर, दाबी प्रक्रिया सुरु गरेको एक महिना बितिसक्दा पनि कम्पनीले भुक्तानी नगरेको उनले गुनासो गरे । ‘मैले कम्पनीमा १० पटकजति फोन गरेँ । बल्ल छोरीको र श्रीमतीको दाबी भेरिफाइ भएको छ, छिट्टै भुक्तानी हुन्छ मात्रै भन्छ, हेरौँ के हुन्छ ?’ उनले भने ।

नख्खीपोटमा बस्दै आएका स्याङ्जाका मुक्ति सुवेदीलाई २० असोजमा कोरोना संक्रमण देखियो । नेपाल धितोपत्र बोर्डमा कार्यरत सुवेदीले होम आइसोलेसनमा नै बसेर १२ दिनमा कोरोनालाई जित्न पनि सफल भए । उनको कार्यालयले आइएमई जनरल इन्स्योरेन्समा १ लाखको कोरोना बिमा गरिदिएको थियो । तर, दसैँको माहोलाका कारणले उनले समयमा नै दाबी गर्न पाएनन् ।

दसैँ सकिएलगत्तै १६ कात्तिकमा उनले बिमा रकमका लागि कम्पनीमा प्रक्रिया सुरु गरे । एक महिनासम्म पनि कम्पनीले सम्पर्क नगरेपछि उनले दुई साताअगाडि कम्पनीमा फोन गरी सोधपुछ गरेको बताए । उनले भने, ‘कम्पनीले तपाईंको फाइल बिमा समितिको पुगेको छ भन्यो । त्यसपछि सम्पर्क गरेको छैन ।’

धितोपत्र बोर्डमा नै कार्यरत दीपिका मास्केको पनि बिमा दाबी रकम सुरु गरेको साढे दुई महिना बितिसक्दा पनि भुक्तानी भएको छैन । काठमाडौं, महाराजगन्जनिवासी मास्केलाई ७ असोजमा कोरोना पोजेटिभ देखिएको हो । १४ दिनको होम आइसोलेसनपछि कोरोनामुक्त भएका मास्केले कार्यालयमार्फत १० असोजमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीमा बिमा रकम दाबीको प्रक्रिया सुरु गरिन् । तर, प्रक्रिया सुरु गरेको साढे दुई महिना पुग्न लाग्दा पनि कम्पनीले कुनै जवाफ नदिएको उनले बताइन् ।

तीन दिनमा भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री विष्णु पौडेलले तीन दिनमा कोरोना बिमा दाबी भुक्तानी गर्न बिमा समिति, बिमा कम्पनी र राष्ट्रिय बिमा कम्पनीलाई निर्देशन दिएका छन् । मन्त्री पौडेलले कोरोना बिमा दाबी भुक्तानी मापदण्डबमोजिम कागजपत्र र प्रक्रिया पूरा गरेका दाबीको भुक्तानी गर्न निर्देशन दिएका हुन् ।

यसअघि १८ कात्तिकमा अर्थमन्त्री पौडेलले एक साताभित्रमा नै भुक्तानी गर्न निर्देशन दिएका थिए । तर, कम्पनीहरूले भुक्तानीमा आलटाल गरेपछि मन्त्री पौडेलले गत १८ मंसिरमा तीन दिनभित्र भुक्तानी गर्न अर्को निर्देशन दिएका हुन् ।

बिमा समिति आफैँले जारी गरेको कोरोना बिमा भुक्तानी मापदण्डमा पनि एक साताभित्रमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी, बिमितले कोरोना पोजेटिभ देखिनेबित्तिकै बिमित आफैँ वा आफन्तले मेल, फोन, पोस्ट वा प्रत्यक्ष उपस्थित भएर कोरोना बिमा दाबी प्रक्रिया सुरु गर्न सकिने व्यवस्था गरेको छ ।

बिमितले कोरोना दाबी गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य रिपोर्ट, होम आइसोलेसनमा बसेको भए वडा कार्यालयको सिफारिस र हस्पिटलमा भर्ना भएको भए हस्पिटलमा उपचार गराएको कुनै रसिद बुझाउनुपर्ने व्यवस्था गरेको छ । तर, २९ भदौअघि जारी भएका पोलिसीमा भने सिफारिस पेस गर्नुपर्ने व्यवस्था छैन । यद्यपि, कम्पनीहरूले भने सिफारिसलाई अनिवार्य गरेका छन् ।

कागजपत्र नै नपुगेको बिमा समितिको दाबी

कोरोना बिमा दाबी संख्यामध्ये ६० प्रतिशतले कागजपत्र नै पूरा नगरेको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताएका छन् । उनका अनुसार कम्पनीहरूमा परेको कुल दाबी संख्यामध्ये १३ हजार दाबीको मात्रै कागजपत्र पुगेको छ । ‘मेलमार्फत पनि दाबी बुझिने हुँदा दाबी संख्या धेरै देखिएको हो । तर, कागजपत्र पुर्‍याउने बिमितको संख्या कम छ,’ उनले भने ।

कम्पनीमा कागजपत्रसहित दाबी गर्नेलाई तीन दिनभित्र भुक्तानी गर्न सकिने उनको दाबी छ । कोरोना बिमा दाबी गर्दा कागजपत्र पुगे–नपुगेको विषयमा बिमितलाई जानकारी नहुने उनले बताए । तर, एकपटक दाबी गरेपछि महिनाँैसम्म पनि कम्पनीले सम्पर्क नै नगर्ने गरेको पीडितहरूको गुनासो छ ।

कोरोना बिमा दाबीका लागि प्रक्रिया सुरु गरेको दुई महिना बितिसक्दा पनि कम्पनीले कुनै प्रतिक्रिया नदिएको पीडित टेकराज थामीले बताए । उनले गत १९ असोजमा नेको इन्स्योरेन्समा बिमा दाबीका लागि प्रक्रिया सुरु गरेका थिए । उनले भने, ‘कागजपत्र पुगेको छैन भने कम्पनीले खबर गर्नुपर्‍यो । खबर नगरेसम्म कसरी थाहा हुन्छ, कागज पुगेको हो वा होइन भनेर । अन्यथा भुक्तानी गर्नुपर्‍यो ।’

विश्वमा कोरोना महामारी फैलँदै गएपछि बिमा समितिले गत वैशाखको पहिलो सातादेखि कोरोना बिमा सञ्चालनमा ल्याएको हो । बिमा समितिले १ लाख र ५० हजार रुपैयाँ बिमांकको कोरोना बिमा सञ्चालनमा ल्याएको हो । १ लाख रुपैयाँसम्मको बिमालेखअन्तर्गत कम्पनीहरूले बिमा गर्दा प्रतिव्यक्ति १ हजार रुपैयाँ र परिवारको गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ ।

त्यस्तै, ५० हजार रुपैयाँ बिमांक रकमबराबरको बिमा गर्दा प्रतिव्यक्ति ५ सय र परिवारको गर्दा ३ सय रुपैयाँ बिमाशुल्क कायम गर्नुपर्नेछ । सामूहिक रूपमा कोरोना बिमा गर्दा सरकारले ५० प्रतिशत अनुदानको समेत व्यवस्था गरेको छ । त्यस्तै, चालू आवको बजेटमार्फत सरकारले राष्ट्रसेवकका लागि कोरोना बिमा निःशुल्क गरेको छ ।

कम्पनीहरूको अनुगमन सुरु

तीन दिनभित्र नै कोरोना बिमा दाबी भुक्तानी भए–नभएको अनुगमन गर्न बिमा समितिको निरीक्षण विभागको टोली खटिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘हामीले टोली खटाइसकेका छाैँ । भोलि त्यसको रिपोर्ट आउँछ,’ उनले भने ।

कम्पनीहरूमा फेक पिसिआर रिपोर्ट आएका कारण दाबी भुक्तानीमा ढिलाइ भएको उनले स्पष्ट पारे । पौडेलका अनुसार १६ हजार ४ सय १५ वटा बिमा दाबीको मात्रै कागजपत्र पूरा भएको छ । जसमध्ये ७ हजार ३ सय ६८ वटा दाबीको कम्पनीहरूले ७१ करोड ७० लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

१ हजार ९ सय ४८ वटा दाबी भेरिफाईको प्रक्रियामा छन् भने २ हजार ५ सय ७ वटा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफाईका लागि अड्किएका छन् । १ सय २४ वटा महाशाखामा पठाउन तयार छ । ९ सय ८९ वटा दाबी भेरिफाई भएर कम्पनीमा फर्काइएका छन् । २५ वटाको दाबी नलाग्ने भएका छन् भने ३ हजार ४ सय ५४ भेरिफाईको प्रक्रियामा छन् । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार