काठमाण्डौंः मानव विकास सूचकाङ्कमा नेपालले पाँच स्थान फड्को मारेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन २०२० मा नेपाल १४२औंँ स्थानमा आएको छ ।
यसअघि सन् २०१८ मा नेपाल १४७औँ स्थानमा थियो । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ । अघिल्लो वर्ष यस्तो सूचक ०.५९६ थियो । तर राष्ट्रिय योजना आयोग र यूएनडीपीकै सहकार्यमा मङ्सिर २८ गते सार्वजनिक नेपाल मानव विकास सूचकाङ्क प्रतिवेदनले भने नेपालको सूचक ०.५८७ मात्र देखाएको थियो ।
दक्षिण एसियाली मुलुकमा नेपाल छैटाँैं स्थानमा छ । सबैभन्दा अगाडि श्रीलङ्का ७२औँ स्थानमा छ । त्यसपछि माल्दिभ्स ९५औँ, भुटान १२९औँ, भारत १३१औँ र बङ्गलादेश १३३औँ स्थानमा छन् । नेपालपछि पाकिस्तान १५४औँ र अफगानिस्तान १६९औँ स्थानमा छन् । प्रतिवेदनमा १८९ देश समावेश छन् ।
प्रतिवेदनअनुसार नेपालको औसत आयु ७० वर्ष आठ महिना पुगेको छ । विद्यालयमा बिताउने समय १२ वर्ष आठ महिना छ । बहुआयामिक गरिबी जनसङ्ख्याको ३४ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । १५ वर्ष माथिको जनसङ्ख्यामध्ये रोजगारी प्राप्तको सङ्ख्या ८२.६ प्रतिशत रहेको छ । कुल जनसङ्ख्यामध्ये ६५ प्रतिशत कृषिमा आधारित रहेको प्रतिवेदनले देखाएको छ । त्यस्तै सेवा क्षेत्रमा १९.९ प्रतिशत संलग्न रहेको उल्लेख छ ।
कुल राष्ट्रिय आम्दानीका आधारमा प्रतिव्यक्ति आम्दानी तीन हजार ४५७ डलर पुगेको देखाइएको छ । सन् २०१७ लाई आधार मानेर निर्धारण गरिएको यस्तो आय सम्बन्धित देशका उपभोक्ताको खरिद क्षमतालाई विश्लेषण गरेर निक्र्योल गरिन्छ । मुद्रास्फीति नियन्त्रणमा रहेका देशहरूमा प्रतिव्यक्ति आयको तीन गुणासम्म यस्तो आम्दानी बढ्ने पाइएको छ ।
प्रतिबद्धता पूरा गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मानव विकास प्रतिवेदन नेपाल जस्ता धेरै मुलुकको विकासका लागि नीतिगत स्रोत सामग्रीका रूपमा उपयोगी रहेको बताए । मानव विकास प्रतिवेदन सार्वजनिक गर्नुहुँदै मन्त्री ज्ञवालीले विगत तीन दशकदेखि मानव विकास प्रतिवेदनहरूले विकास र मानव कल्याणको वैकल्पिक मूल्याङ्कन गरी त्यसका नीतिगत बहसलाई आकार दिएको उल्खेख गरे । जुन मानव विकासको मापनका लागि प्रयोग गरिएको मापदण्डका रूपमा नेपाल लगायतका देशमा सामाजिक विकास ‘एजेन्डा’लाई अगाडि बढाउने आधार बनेकोसमेत उनले प्रस्ट पारे ।
सन् १९९० देखिको मानव विकास प्रतिवेदनहरूले मानवको प्रगति र दिगो विकासका महत्वपूर्ण आयामहरूलाई जोड दिएको मन्त्री ज्ञवालीले बताए । यसका कारण सरकार र सरोकारवालालाई चुनौती सम्बोधन गर्न सहयोग पुर्याइरहेको छ ।
हालसम्म मानव विकासका धेरै अवधारणा विकसित भएको औँल्याउँदै उहाँले यी प्रतिवेदनले युगको रूपान्तरणका लागि सघाउ पुगेको बताए । दिगो विकास, मानव विकास र जलवायु परिवर्तन आपसमा अन्तरनिर्भर रहेको उल्लेख गर्नुहुँदै मन्त्री ज्ञवालीले ती सबै क्षेत्रमा गरिएका प्रतिबद्धता पूरा गर्न नेपाल तत्पर रहेको जानकारी दिए। आजको गोरखापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया