असार २३, २०८२ सोमबार July 7, 2025

गुटगत निर्णय लिएर नेकपाका नेताहरु गाउँगाउँमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहका शीर्ष नेताहरू गुटगत निर्णय एवं सन्देश लिएर अहिले गाउँगाउँमा कार्यक्रम गर्न व्यस्त भएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले पार्टी एकताको सन्देश र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले जिल्लाजिल्लामा आमसभा, भेला, बैठकलगायतका कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

तर पार्टीको निर्णयअनुसार कार्यक्रम गर्न जिल्ला पुग्न नसकेका शीर्ष नेताहरू अहिले गुटगत निर्णयका सन्देश लिएर गाउँगाउँसम्म पुगिरहँदा आम कार्यकर्तामा अन्योल र निराशा छाइरहेको छ । यद्यपि दुवै समूहले आआफ्नो कार्यक्रममा कार्यकर्ताहरू उत्साहका साथ लागिपरिरहेको दाबी गर्दै आएका छन् ।

पार्टी एकतापछि कार्यकर्ता र नेताका बीचमा कम संवाद एवं भेटघाट हुने गरेको भए पनि अहिले गुटगत विषयमा घनिष्ट रूपमा कुराकानी हुँदा त्यसले पार्टीलाई उन्नत बनाउन नसक्ने कार्यकर्ताको गुनासो छ ।

केही शीर्ष नेताको अडान र हठका कारण नेकपा दुई समूहमा विभाजित भइसकेको छ । विचार र सिद्धान्तभन्दा पनि पदीय भागबन्डाको लडाइँका कारण पार्टी विभाजन हुन पुगेको आम कार्यकर्ताको बुझाइ छ ।

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध नेकपा दाहाल–नेपाल समूह आन्दोलित छ भने नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली समूह भने निर्वाचनको तयारीमा जुटेको छ ।

दुवै समूहको पछिल्लो बैठकले एकले अर्कालाई कारबाही गर्दै आफू निकटका नेतालाई जिम्मेवारी तोक्ने क्रम जारी छ । एकले अर्कोलाई आरोप लगाउँदै विरोध र गाली गलौज गर्ने क्रम पनि रोकिएको छैन । गुटगत निर्णय लिएर अहिले शीर्ष नेताहरू जिल्लाजिल्लामा भेला, बैठक, प्रशिक्षण गर्नमा नै रमाइरहेका छन् ।

आआफ्नो समूहको नेकपा आधिकारिक नेकपा भएको भन्दै तल्लो तहका नेता, कार्यकर्तालाई आफ्नै समूहमा लाग्न नेताहरू फकाउँदै छन् । कतिपय नेताहरू कार्यकर्ताको घरघरसम्म पुग्ने गरेका छन् । कानुनी रूपमा पार्टी नफुटे पनि व्यवहारतः पार्टी फुटेकै अवस्थामा पुगिसकेको छ ।

पार्टी आधिकारिकताबारे निर्वाचन आयोगले दुवै समूहका निर्णय अध्ययन गरिरहेको छ । दुवै समूहले अहिले काठमाडौंमा युवा, विद्यार्थी, महिलालगायतका भेला, बैठक सम्पन्न गरेका छन् । नेकपा स्रोतका अनुसार बाँकी भ्रातृसंगठनका भेला तथा बैठक छिटै हुनेछ । पार्टी एकता पछि हुन नसकेको भेलाबैठकले अहिले तीव्रता पाएको नेकपा नेताहरू बताउँछन् ।

नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य गणेश साहले अहिले पार्टीको भेला, बैठक, प्रशिक्षणलगायतका काम गाउँगाउँसम्म भइरहेको बताए ।

‘गाउँगाउँमा आन्दोलन परिचालन कमिटी गठन गर्ने र संसद् पुनस्र्थापनाको पक्षमा आन्दोलनलाई सशक्त बनाउने हो,’ साहले भने, ‘प्रधानमन्त्रीको कदम असंवैधानिक छ, त्यही भएर हामी आन्दोलनमा छौं ।’

नेकपा ओली समूहका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका सदस्य सुमन प्याकुरेलले प्रधानमन्त्री ओलीको कदम संवैधानिक रहेको दाबी गरे । ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरिएको बताउँदै उनले अब निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए ।

‘वैशाखमा निर्वाचन हुन्छ, हामी त्यसैको तयारीका लागि जिल्लादेखि गाउँगाउँसम्म विभिन्न कार्यक्रम गरिरहेका छौं,’ प्याकुरेलले भने, ‘प्रधानमन्त्रीले ताजा जनादेशका लागि निर्वाचनको घोषणा गर्नुभएको हो, अब निर्वाचनको विकल्प नै छैन ।’

नेकपा स्रोतका अनुसार काठमाडौं मात्रै नभई प्रदेश, जिल्लादेखि स्थानीय तहसम्ममा अहिले भेला, बैठक, प्रशिक्षणलगायतका गतिविधिले तीव्रता पाएको छ । प्रधानमन्त्री ओली देशव्यापी अभियानमा निस्कन थालेका छन् भने दाहाल र नेपाल समेत काठमाडौं बाहिर गएर सम्बोधन गर्ने क्रम बढाएका छन् ।

यसअघि भने ओली, दाहाल र नेपाल काठमाडौं बाहिर खासै जाने गरेका थिएनन् । नेकपा अध्यक्षद्वय ओली र दाहालका बीचमा प्रधानमन्त्री निवास बालुवाटारमा सयौं पटक भेटघाट तथा छलफल भयो । तर यी नेताहरू कहिल्यै जिल्ला पुगेर पार्टी एकता र सरकारले गरेका राम्रा कामबारे कार्यकर्ता र सर्वसाधारणलाई बताउन चाहेनन् । तर पार्टी विभाजनको सन्देश लिएर गाउँगाउँसम्म पुग्न नेकपा अध्यक्षद्वय ओली र दाहाल मात्र नभई अन्य नेतालाई समेत भ्याइनभ्याई छ ।

दाहाल–नेपालले भने–‘असंवैधानिक कदमले राजतन्त्रलाई मलजल पुग्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमले राजसंस्था पुनस्र्थापनाका लागि मलजल पुग्ने बताएका छन् । दाहाल–नेपाल निकटको प्रेस संगठन नेपालले मंगलबार काठमाडौंमा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनीहरूले यस्तो बताएका हुन् ।

संसद् विघटन गर्न प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा राजाको भाषा आएको टिप्पणी अध्यक्ष दाहाल गरे । उनले भने, ‘यो राजतन्त्र पुनस्र्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु छ ।’
शान्ति, सम्झौता र लोकतन्त्र धरापमा पार्ने काम प्रधानमन्त्रीले गरेको बताउँदै उनले भने, ‘शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा छ, आईसीयूमा छ त्यसैले बचाउनुपर्छ ।’

अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटन संविधान विघटनको सुरुवात भएको दाबी गरे । ‘प्रतिनिधिसभा विघटनको सिफारिसमा राजा महाराजाको गन्ध आएको छ,’ उनले भने, ‘निरंकुशतामा देशलाई लैजाने प्रक्रिया सुरु भएको छ ।’
प्रधानमन्त्री ओलीले ठगी धन्दा गरेको पनि उनले आरोप लगाए । ‘प्रधानमन्त्री बन्न जे पनि गर्नुभयो । आलोपालो प्रधानमन्त्री हुने सहमति भएकै हो । तर उहाँले कार्यान्वयन गर्नुभएन,’ उनले भने, ‘पछि ठगीधन्दा गर्नुभयो ।’

पार्टीको विवादले गर्दा संसद् विघटन भयो भन्नु कुतर्क भएको दाहालको तर्क छ । ‘पार्टीको विवाद पार्टीकै विधानबाट हल गर्ने हो,’ उनले भने, ‘संसद् विघटन गर्ने होइन ।’ ओलीले गरेका गल्तीका कारण आफू माधवकुमार नेपाललगायत नेताहरूसँग आइपुगेको उनले बताए ।

सोही भेलालाई सम्बोधन गर्दै सो समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने अथवा पदबाट राजीनामा दिनुपर्ने बताए । ‘आफैंले संसद् विघटन गरेपछि संसद् रहेन, संसद् नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँ (ओली) ले प्रधानमन्त्रीको पद छोड्नुपर्छ कि कामचलाउ भएको स्विकार्नुपर्छ,’ नेपालले भने ।

अध्यक्ष नेपालले प्रधानमन्त्रीले पार्टी निर्णय नमानेर पार्टी फुटाएको आरोप लगाए । प्रतिनिधिसभा विघटन गर्ने ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने पनि उनले बताए । यद्यपि आफूहरूले प्रतिनिधिसभा विघटन भइसकेको नमान्ने उनको जिकिर थियो ।

उनले भने, ‘उहाँ कि कामचलाउ प्रधानमन्त्री हुनुप¥यो कि प्रधानमन्त्री छोड्नुप¥यो ।’ राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया