वैशाख २४, २०८१ सोमबार May 6, 2024

चट्याङ के हो ? कसरी बच्ने ! अपनाउनुहोस यी उपाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः देशभर हुरी चल्ने, चट्याङ पर्ने मौसम सुरू भएको छ। चैत-वैशाखको बेला मौसमी हिसाबले चट्याङ र हावाहुरीको समय हो । यो बेला प्रिमनसुनको सिजन हुने र प्रिमनसुनमा हावाहुरी र चट्याङ पर्ने सम्भावना बढि रहने गरेको मौसमविदहरु बताउँछन् । गर्मीको समयमा जमिन तात्दै जाने र त्यसले हावा वायुमण्डलमा सर्दै जाने प्रक्रियालाई न्यून चापीय क्षेत्र भनिन्छ । त्यो बढ्दा मौसममा प्रतिकूल भई हावाहुरी चल्ने, वर्षा हुने र चट्याङ पर्ने गर्छ । मनसुन पूर्वको यो समयमा सामान्य वर्षा भएपनि मौसममा खराबी आएपछि मेघगर्जनसहित हावाहुरी चल्ने गर्दछ ।

चट्याङ के हो ? कसरी पर्छ ?

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो ।

साधारणतयाः चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन । अपवादको रूपमा ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ । आवाजविनाको चट्याङलाई “उष्ण बिजुली” भनिन्छ । सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन् । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् । यसको पूर्वानुमान लगाउन सकिँदैन । यो वर्षा भएका ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ । त्यसैले चट्याङ परेका बेला अपनाउनुपर्ने र त्यसका लागि पूर्वतयारी गरेमा यसबाट हुने क्षतिको जोखिम कम गर्न सकिन्छ ।

सूर्यको तापक्रमले पृथ्वीको जमिनको सतहको तापक्रम बढ्छ । सो तापक्रमले पृथ्वीको सतहमा रहेको जलाशयका स्रोतहरू जस्तै– ताल, तलाउ, नदी, सागर, महासागरबाट वाष्पीकरण विधिबाट पानीका कण माथितिर उड्दै जान्छ । यसरी जमिन तातेर वाष्पीकरण विधिबाट माथि गएका पानीका कणहरूले बादलको रूप लिन्छ । बादल हावाको माध्यमबाट गतिमान हुन्छ ।

यसरी गतिमान हुँदा विभिन्न बादलबीच हुने घर्षणबाट चार्जहरू उत्पन्न हुन्छन् । ती पानीका कण विभिन्न तहमा विभिन्न तापक्रममा बसेका हुन्छन् । जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तह बाक्लिँदै जान्छ, जसलाई क्युमलोनिम्बस भनिन्छ । धेरै बाक्लो भएपछि यसबाट प्रकाश छिर्न नसक्ने हँदा कालो हुने भएकाले यस्तो बादललाई कालो बादल पनि भनिन्छ । जब कालो बादल आकाशमा देखा पर्दछ, चट्याङ पर्ने सम्भावना बढी हुन्छ ।

यसको तल्लो भागमा प्रशस्त मात्रामा पानीका थोपाहरू रहेका हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो तापक्रम हुने भएकाले बरफको टुक्रा हिउँ, असिना आदि रहेका हुन्छन् । जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै फरक पर्दछ र बादलहरू नै आपसमा गतिमान भई छिटो–छिटो हिँड्छन् । जसको कारण बादलभित्र हुरीबतास तलमाथि चल्छ ।

यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्जहरू उत्पन्न गराउँछन् । सुरुसुरुमा आकाशको माथिल्लो भागमा बादलभित्रै बिजुली चम्किने गर्दछ ।

यस्तो चट्याङलाई बादलदेखि बादलबीचको चट्याङ भनिन्छ, जसले पृथ्वीमा भएको वस्तुहरूमा असर गर्दैन तथा पृथ्वीमा कुनै मानवीय हानि–नोक्सानी हुँदैन बादलभित्र भएका हुरीबतास धेरै समयपछि बादलबाट बाहिरतिर निस्कन थाल्छन् । फलस्वरूप पृथ्वीको सतहमा आँधिबेहरी चल्न थाल्छ । घर्षणका कारणबाट चार्जहरू धेरै मात्रामा बनेपछि बादलमा भएका चार्जहरूको कारणले पृथ्वीमा पनि विपरीत किसिमका चार्जहरू उत्पन्न हुन्छन् । यसरी आकाशमा भएको बादलका चार्जहरू र पृथ्वीमा भएको विपरीत चार्जहरूमा विभिन्न प्रतिक्रिया हुन्छन् । आकाशमा एक बिजुली चम्किने बेलामा पृथ्वीको वायुमण्डलको तापक्रम अत्यधिक मात्रामा बढ्ने गर्दछ ।

यसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिने र सो तापक्रम लगभग ३० हजार डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिक अध्ययन–अनुसन्धानले देखाएको छ । यसरी तातिएपछि वायुमण्डलको आयतन एक्कासि वृद्धि हुँदा ठूलो आवाज निस्कन्छ, जसलाई मेघ गर्जन भनिन्छ । त्यसैकारणले चट्याङ पर्ने र मेघ गर्जन हुने घटना एकैसाथ हुने गर्छ ।

जब आकाशमा छिटो–छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको डर बढ्दै जान्छ र चट्याङबाट हानि–नोक्सानी हुने खतरा बढी हुन्छ । त्यससँगै विस्तारै पानी पनि पर्न थालेमा बादलबाट निस्कने हुरीबतास र वर्षासँगै बादलमा भएका चार्जहरू पनि बहन्छन् र विद्युतीय धार पनि आकाशबाट पृथ्वीतिर बग्दछ ।

चट्याङबाट बच्ने उपायः

–बिजुली चम्केको बेला सतर्क रहनु पर्छ।

–फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने।

–विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने।

–बिजुली चम्केको केही समय पानी परेको क्षेत्रमा ननिस्कने।

–सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने।

–खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने।

–सकभर अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमीनमा नबस्ने।

–धातुका ह्याण्डल, चेन भएका ब्याग, वा अन्य सामान नबोक्ने नछुने।

–तारबार, पोखरी, ठूला रुख नजिक नबस्ने।

–चट्याङ परेको क्षेत्रमा हुनुहुन्छ र सरिरमा असहज हुनेगरी केही चिजले घोँचेजस्तो महसुस भएको छ, आङ जिरिङ भएर रौँ ठडिएको छ भने चटयाङले हान्ने संभावना भन्ने बुझेर तुरुन्तै टाउकोमाथि हात राखेर कुइना र घुँडाले टेकेर घोप्टो पर्नु पर्छ।

यो हो दुनियाको सबैभन्दा धेरै चट्याङ पर्ने ठाउँ
भेनेजुयलाको माराकाइबो ताल क्षेत्रमा हरेक मिनेटमा २८ पटक चट्याङ पर्दछ र यो दुनियाको सबैभन्दा बढि चट्याङ पर्ने ठाउँ हो । जहाँ काटाटुम्बो नदी माराकाइबो तालमा मिल्दछ, त्यो क्षेत्रमा एक वर्षमा २ सय ६० दिन त आँधीबेहेरी र हावाहुण्डरी नै चल्दछ । तिव्र आँधिबेहेरीका कारण त्यहाँ निरन्तर विजुली चम्किरहेको र चट्याङ परिरहेको हुन्छ ।

डेलीमेलका अनुसार माराकाइबो तालमा रहेक मिनेटमा औषतमा २८ पटक चट्याङ पर्दछ अर्थात् एक वर्षमा १२ लाख पटक चट्याङ पर्छ । त्यहाँ परेको चट्याङ अढाइ सय माइल टाढाबाट समेत देख्न सकिन्छ ।

आखिर त्यो तालमा किन यतिधेरै चट्याङ पर्छ होला ? वैज्ञानिकहरुले यस विषयमा विभिन्न खाले सिद्धान्त प्रतिपादन गरेका छन् । तिव्र गतिको हावाले तालको ओसिलो हावालाई जोडसँग सोहोरेर लग्ने र नजिकैको एन्डियन पहाडमा ठोक्काउने गर्दा यस्तो भएको कतिपयको भनाइ छ । अर्को सिद्धान्त अनुसार ताल क्षेत्रको धापमा कुहेका जिव तथा वनस्पतीबाट निस्किएको मिथेन ग्यासका कारण यस्तो चट्याङ निरन्तर पर्ने गर्छ ।

माराकाइबो ताल पहाडले घेरिएको छ । पहाडहरुले क्यारेबियन सागरबाट आउने न्यायो व्यापारिक वायुलाई ट्रयाप गर्दछन् । त्यो न्यानो हावा एन्डिज पर्वतबाट झर्ने चिसो हावासँग ठोक्किन्छ ।

त्यसपछि दुवै हावा माथि उठ्छन् र गर्जन सहित निरन्तर विजुली चम्किन्छ । वैज्ञानिकहरुका अनुसार माराकाइबो तालमाथिको आकाशमा चम्किरहने विजुलीका कारण उत्पन्न भएको उर्जाबाट पूरै ल्याटिन अमेरिकामा विजुली बाल्न पुग्दछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तीन वटा प्रदेशमा चट्याङ्ग सहित पानी पर्ने
२०८१ वैशाख २४, सोमबार
इंग्लिस प्रिमियर लिग : लिभरपुलले टोटेनहमलाई ४–२ गोलले हरायो
२०८१ वैशाख २४, सोमबार
लखनउलाई ९८ रनले हराउँदै कोलकाता आईपीएलको शीर्षस्थानमा
२०८१ वैशाख २४, सोमबार
रुरल सहकारी प्रकरणः अध्यक्ष र सचिवले स्वीकारे बचतकर्ताको रकमबाट जग्गा खरिद गरेको
२०८१ वैशाख २४, सोमबार
लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक
२०८१ वैशाख २३, आइतबार
नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता
२०८१ वैशाख २३, आइतबार
राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण
२०८१ वैशाख २३, आइतबार