वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

सरकार उदार भएकाले प्रदेश प्रमुखलाई दुई वर्ष काम गर्न दियो : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरु परिवर्तन हुनु स्वाभाविक भनेका छन् । साथै उनले नयाँ प्रदेश प्रमुखहरुको नियुक्तिमा नेकपा नेता माधवकुमार नेपालले राखेको फरक मतलाई पनि ‘सामान्य’ भनेका छन् ।

मंगलबार बाँकेको नेपालगञ्ज विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले सरकार परिवर्तन भइसकेपछि प्रदेश प्रमुखहरु पनि परिवर्तन हुने सामान्य प्रचलन रहेको बताएका छन ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नियुक्त भएका सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर वर्तमान सरकारले नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेको छ । नवनियुक्त प्रदेश प्रमुखहरुले मंगलबार बिहान शीतलनिवासमा शपथ ग्रहण पनि गरेका छन् ।

तीन वर्ष कार्यकाल बाँकी रहँदै प्रदेश प्रमुखहरु हटाएको भनेर कतिपयले सरकारको आलोचना गरिरहेका बेला प्रचण्डले भने नेकपा नेतृत्वको सरकार उदार भएकाले अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई दुई वर्षसम्म काम गर्न दिएको बताएका छन ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘कैयौं देशहरुमा त सरकार बदलिनेबित्तिकै प्रदेश प्रमुखहरुले मोरल्ली रिजाइन गर्दिने (नैतिकताको आधारमा राजीनामा दिने) र सरकारलाई काम गर्न सजिलो पार्दिने प्रचलन पनि छ । तर, हाम्रो सरकार अलि उदार भएको हुनाले, अलि धेरै नै लचिलो र जिम्मेवार भएको हुनाले दुई वर्षसम्म उहाँहरुलाई काम गर्न दियो । र, अहिले सरकारले अब फेर्न उचित हुन्छ भन्ठान्यो ।’

प्रदेश प्रमुखहरुले सरकारको प्रतिनिधिको रुपमा काम गर्ने भएकाले उनीहरुलाई हटाउने र नियुक्त गर्ने कुरा सरकारको क्षेत्राधिकारभित्रै पर्ने प्रचण्डले बताएका छन । उनले भने, ‘यो सरकारको क्षेत्राधिकारभित्रको कुरा हो, गर्‍यो । यसलाई ठूलो ठान्नुपर्ने, के–के न हो भनेर ठान्नुपर्ने विषय होइन ।’

‘माधवजीले मान्दिनँ भन्नुभएको छैन’

प्रदेश प्रमुखहरुको नियुक्तिको विषयमा नेकपाकै नेता माधवकुमार नेपालको असन्तुष्टिबारे सोधिएको प्रश्नमा प्रचण्डले त्यो सामान्य कुरा भएको बताएका छन ।

प्रचण्डले भने, ‘माधवजीले एक–दुई जनाको नाम पक्कै पनि प्रस्ताव गर्नुभएको थियो । जोड दिनुभएको थियो यो गरौं भन्ने खालले । तर, बैठकले त्यो निर्णय गरेन, यो निर्णय गर्‍यो ।’

नेता नेपालले फरक मत राखे पनि पार्टीको निर्णय मान्दिनँ नभनेको प्रचण्डले बताएका छन । ‘उहाँलाई चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य कुरा नै हो, स्वाभाविक प्रक्रिया हो । उहाँले मान्दिनँ भन्नु भएको छैन, मेरो भिन्न मत राख्छु भनेर भन्नुभा’छ,’ प्रचण्डले भने ।

नेकपा सचिवालय बैठकले सोमबार नयाँ प्रदेश प्रमुखहरुको नाम तय गरेको थियो । पार्टीले टुंगो लगाएको नामलाई नै मन्त्रिपरिषद् बैठकले नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पार्टीको बैठकमा नेता नेपालले आफूनिकटका केही नेताहरुको नाम प्रदेश प्रमुखको रुपमा प्रस्ताव गरेका थिए ।

तर, नेता नेपालले प्रस्ताव गरेका कुनै पनि नेता नपरेपछि उनले बैठकमा फरकमत राखेका थिए ।

‘उपेन्द्रजीसँग पनि छलफल भएको हो, तर उहाँका परेनन्’

प्रदेश प्रमुखको नयाँ नियुक्तिमा सत्ता साझेदार समाजवादी पार्टीको समेत असन्तुष्टि रहेको समाचार सार्वजनिक भइरहेका छन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव केपी ओली नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री छन् । तर, उनको पार्टीका व्यक्ति पनि अहिले प्रदेश प्रमुख बन्न सकेनन् ।

यद्यपि यसबारे आफूले उपेन्द्र यादवसँग छलफल भने गरेको प्रचण्डले बताएका छन । पत्रकारहरुको प्रश्नमा प्रचण्डले भने, ‘पार्टीले, सरकारले उहाँसँग कुरा नगरेको पनि होइन । मैले पनि उपेन्द्रजीसँग कुरा गरें यो बारेमा । समझदारी हुनुभन्दा अगाडि, सरकारले निर्णय गर्नुभन्दा अगाडि उपेन्द्रजीसँग कुरा गरेको हो । हामीले छलफल गर्दा अहिले पुरानोजति सबै बदलौं भन्नेमा पुगियो र अहिले उहाँको पर्न सकेन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया