काठमाडौंः पुनर्स्थापनापछि प्रतिनिधि सभाको दोस्रो बैठक आज (बुधबार) बस्दै छ । संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने छ। आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।
आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) , तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यक्रम छ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै आजको बैठकमा पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची समेत छ।
यसअघि यही फागुन २३ गतेको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकै अवरुद्ध पारेको थियो। त्यस्तै प्रचण्ड–नेपाल पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए । जसका कारण सभामुख अग्नि सापकोटाले बैठक स्थगन गर्नुभई २६ गतेका लागि बैठक बोलाउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया