मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

घरेलु मैदानमा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको यु–२३ टोलीसँग गोल रहित बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली निर्धारित समयमा गोल गर्नबाट वञ्चित रहे । किर्गिस्तान विरुद्धको खेलमा नेपाल उत्कृष्ट लयमा हुँदाहुँदै पनि गोल गर्नबाट चुक्न पुग्यो । मध्यान्तर अघि र पछिको खेलमा नेपाली खेलाडी किर्गिस्तानका खेलाडीमाथि हाबी भएका थिए । नेपाली खेलाडीले पटक पटक गोल गर्ने प्रयास भए पनि किर्गिस्तानी गोलकिपर प्रिएदकिन अर्तेमले सबै विफल पारी दिनुभयो ।

खेलको ६७औँ मिनेटमा किर्गिस्तानका कप्तान तासिएभ कामोलिदिनले दोहरो पहेँलो कार्डसँगै मैदानबाट बाहिरिनुभयो । त्यसपछि २९ मिनेटसम्म किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहन पुग्यो । नेपाली टोलीले त्यसको पनि फाइदा उठाउन सकेन । रंगशालामा उपस्थित करिब आठ हजार खेलाडीले किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहँदा नेपाली टोलीबाट गोलको आश गरेका थिए । किर्गिस्तानी गोलकिपर अर्तेमले नेपाली दर्शकको आशा निराशामा परिणत गरिदिनुभयो ।

नेपाली टोली खेलको शुरुआतदेखि नै गोल गर्ने राम्रो राम्रो मौका पाएको थियो । खेलको चौँथो मिनेटमा अञ्जन विष्टले डिबक्स भित्रबाट गर्नुभएको प्रयास बिफल भयो । यस्तै खेलको आठौँ मिनेटमा गरेको प्रयास पनि सफल हुन सकेन । यसैगरी मध्यान्तर अघि खेलको १० औँ, १४ औँ, २२ औँ, २९ औँ, ३४ औँ र ४३ औँ मिनेटमा पनि नेपाली टोलीबाट गोलको प्रयास भएका थिए । गोलमा परिणत हुन नसक्दा दर्शकहरू मध्यान्तरपछिको खेलमा गोलको आश गर्दै दर्शकदीर्घामा बसिरहनुभयो ।

मध्यान्तरपछिको खेलमा पनि नेपाली टोलीको प्रदर्शन त्यसअघिकै खेलको जस्तो रह्यो । खेलको ५०औँ मिनेटमा अनन्त तामाङले हेडमार्फत गोलको प्रयास गर्नुभएको थियो । उक्त प्रयासलाई किर्गिस्तानी गोलकिपर अर्तेमले असफल पारिदिनुभयो । यस्तै खेलको ५६ औँ मिनेटमा अञ्जन विष्टले उत्कृष्ट प्रयास गर्नुभएको थियो । किर्गिस्तानका गोलकिपर अर्तेमले नेपाली दर्शकलाई निराश पार्नुभयो । विष्ट खेलको ६३ औँ मिनेटमा पनि गोल गर्नबाट चुक्नुभयो । खेलको ७१ औँ मिनेटमा नेपाल आत्मघाती गोलबाट जोगिएको थियो । गोलकिपर किरण चेम्जोङले आत्मघाती गोलबाट मुश्किलले जोगाउनुभयो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताउनुभयो । लामो समयको अन्तरालपछि प्रतियोगिता खेल्न पाएको भन्दै उहाँले खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया दिनुभयो । नेपाली टोलीको ध्यान अब बंगलादेशसितको खेलमा हुने भन्द्र महर्जनले जसरी पनि फाइनलमा पुग्ने लक्ष्यका साथ शनिबारको खेल खेल्ने बताउनुभयो । किर्गिस्तानसितको खेलमा धेरै मौका पाए पनि नेपाली टोलीको फरवार्ड चुक्दा गोलरहित बराबरीमा चित्त बुझाउनुपरेको उहाँको भनाइ थियो ।

नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ । उक्त खेलमा बराबरी खेलेमा वा विजयी भएमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित भएमा गोल अन्तरका आधारमा नेपाल र किर्गिस्तानको फाइनल पुग्ने कुराको टुङ्गो लाग्ने छ । यसअघि उद्घाटन खेलमा बंगलादेशले किर्गिस्ताको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । बंगलादेशले तीन अङ्क जोडेको छ भने आजको खेल गोलरहित बराबरी खेलेपछि नेपाल र किर्गिस्तानले एक एक अङ्क प्राप्त गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलका आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिदिने प्रधानमन्त्रीको घोषणा
२०८३ मंग्सिर ५, शनिबार
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न
२०८३ मंग्सिर ५, शनिबार
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ५, शनिबार
देश समृद्ध बनाउँदै भ्रष्टाचार अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल
२०८३ मंग्सिर ५, शनिबार
प्रधानमन्त्री शाह आइतबार भारतको राजकीय भ्रमणमा जानुहुँदै
२०८३ मंग्सिर ५, शनिबार
दलको झोला बोक्ने र नेताको चाकडी गर्ने कर्मचारीमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरुङ
२०८३ मंग्सिर ५, शनिबार
हरेदी दलसँग गठबन्धन बन्ने अभिग्डोर लिबरम्यानको विश्वास
२०८३ मंग्सिर ५, शनिबार