वैशाख २५, २०८१ मंगलबार May 7, 2024

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन नेपाल समुहलाई ओलीको अल्टिमेटम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेगरी हस्ताक्षर गरेका नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन एमालेले निर्देशन दिएको छ ।

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बालुवाटारमा बसेको नेकपा (एमाले) को १३ औं केन्द्रीय कमिटी बैठकमा शुक्रबार सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो निर्देशन दिएका हुन् ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिप्रति योजनाबद्ध रुपमा आक्रमणको प्रयास भैरहेकाले सचेत रहन पार्टी पङ्तिलाई निर्देशन दिए ।

ओलीले बैठकमा भनेका छन्, ‘एमालेको नेता हो भन्ने अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरुको पार्टी हित हुने कार्य सह्य हुँदैन।’

उनले आफू पार्टी एकता जोगाउन अधिकतम लचिलो हुन तयार भएको पनि बताए । तर उनले भने, ‘याद रहोस् हाम्रो आन्दोलन मजबुत छ । बाहिरी र भित्री आक्रमण प्रतिरोध गरेर सशक्त ढंगले अगाडि बढ्छ।’

यो सँगै उनले एकता जोगाउन आफूले बोलाएको बैठकमा बामदेव गौतम आएको भन्दै उनको प्रशंसा गरेका छन् । उनले भने,‘ उहाँ (बामदेव) बैठकमा आउनु भएको छ । स्वागत छ। अन्य कमरेडहरुलाई पनि भोलिको बैठकमा सहभागी हुन आग्रह छ।’

उनले गौतमलाई आउने अनि जाने क्रम जारी नराखी यता आएको आयै गर्न अनुरोधसमेत गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया