काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले आज (मंगलबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र ओमानबीचको खेल अल अमिरात क्रिकेट मैदानमा दिउँसो ४:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा अमेरिकालाई हराएर उत्साहित बनेको नेपाल घरेलु टिमविरुद्ध जितको लक्ष्यसहित मैदानमा उत्रिने छ ।
सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । तर, बलियो टिम ओमानविरुद्ध नेपाललाई जित निकाल्नु फलामको चिउरा चपाउनु सरह हुनेछ। घरेलु टिमले पछिल्लो समय उत्कृष्ट क्रिकेट खेलिरहेको छ ।
ओमान लिग-२ को शीर्ष स्थानमा रहेको टिम हो । ओमानले १० खेलमा १६ अंक जोडेको छ । नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापको रुपमा रहेको लिग-२ को यो छैटौं सिरिज हो । यस सिरिजमा नेपाल र अमेरिकासंगै घरेलु टोली ओमान पनि छ ।
लिग-२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लिग-२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।
लिग-२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५ मा भएको खेलमा नेपाललाई ओमानले १८ रनले हराएको थियो । त्यस्तै ९ फेब्रुअरीमा भएको दोस्रो भेटमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो ।
विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया