श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

काठमाडौंमा डेरा जमाएर के गर्दै छन् चिनियाँ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं :  चिनियाँ नागरिकले लामो समयदेखि शंकास्पद व्यवहार देखाएको सूचना गृह मन्त्रालयसम्म पुग्यो। काठमाडौंका बाँसबारी, बूढानीलकण्ठ र मनमैंजुमा घरै भाडामा लिएर बसेका उनीहरूको गतिविधिप्रति स्थानीयलाई शंका लागेको थियो।

मन्त्रालयमा गत साता बसेको सुरक्षा समिति बैठकमा त्यसबारे गम्भीर चर्चा चल्यो। प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चिनियाँ बसेका घरमा प्रहरी खटायो। भित्र छिर्न परिचयपत्र देखाउनुपर्ने र नौलो व्यक्ति देखेपछि उनीहरूले शंकास्पद व्यवहार देखाए। त्यसको रिपोर्टिङ प्रहरी महानिरीक्षकदेखि गृहमन्त्रीसम्म पुग्यो।

सीआईबीमा आइतबार काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाका अधिकारी सम्मिलित बैठक बस्यो। सोमबार संयुक्त रूपमा अपरेसन गर्ने निर्णयमा प्रहरी पुग्यो। त्यहीअनुसार अपरेसनको नेतृत्व सीआईबीले गरेको छ। त्यसमा बालाजु र महाराजगन्ज वृत्तका प्रहरीसमेत सामेल थिए। प्रहरीले तीन घरमा एकसाथ अपरेसन गर्दा चिनियाँ नागरिक झस्किएनन् मात्रै ‘तपाइहरू को हो’ भन्दै प्रश्न गरे।

एकै दिन ९७ चिनियाँ पक्राउ परेका छन्। पर्यटक भिसामा आएका उनीहरूका राहदानी, ल्यापटप, मोबाइल र विभिन्न कागजपत्र प्रहरीले बरामद गरेको छ। अधिकांशको भिसा म्याद सकिएको पाइएको छ। होटल भनेर बसे पनि साइनबोर्डसमेत नभेटिएको प्रहरीले जनाएको छ। ‘पर्यटक बनेर बसेका छन्। होटल भनेर बसे पनि कुनै साइनबोर्ड छैन’, सीआईबी प्रमुख डीआईजी नीरज शाहीले भने, ‘हामी उनीहरूलाई एकै स्थानमा भेला गरेर स्क्रिनिङ गर्छौं।’

पछिल्लो पटक चिनियाँ ह्याकर पक्राउ परेका थिए। ठमेलमा पनि चिनियाँ नागरिकले शंकास्पद गतिविधि देखाउँदै आएको सूचना प्रहरीमा पुगेको थियो।

प्रहरीले गत भदौमा बैंक ह्याक गर्ने चिनियाँ लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई नियन्त्रणमा लिएको थियो। उनीहरूका साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ डलर बरामद गरिएको थियो। नेपाली बाटो हुँदै सुन, लागुऔषध, वन्यजन्तुको अखेटोपहार तस्करी र बैंक ह्याकिङका घटनामा चिनियाँको संलग्नता देखिँदै आएको छ।

हाल पक्राउ परेका चिनियाँ नागरिक कुनै न कुनै आपराधिक योजनामा लागेको आशंका प्रहरीले गरे पनि अनुसन्धानबाट खुलेको कुरा सार्वजनिक गरिएको छैन। ‘अहिल्यै यही भन्ने अवस्था छैन। अनुसन्धानमै छौं’, डीआईजी शाहीले भने, ‘अनुसन्धानबाट खुलेका विषय सार्वजनिक गर्छौं।’ उनीहरूलाई राजधानीकै विभिन्न प्रहरी युनिटमा राखेर प्रहरीले अनुसन्धान थालेको छ। अन्नपूर्ण पोस्ट दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया