नेपाल ट्रस्टको कार्यालयले गोकर्ण रिसोर्टसँगको सम्झौताले सरकारलाई ४ अर्ब ३२ करोड प्राप्त हुने बताएको छ। ट्रस्टले शुक्रबार पत्रकार सम्मेलन गरेर सरकारलाई घाटा नहुने गरी सम्झौता भएको दाबी गरेको हो।
ट्रस्ट कार्यालयका अनुसार एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिले ५ वर्ष ८ महिना अगावै ३० वर्षको म्याद थप गर्न २०७६ वैैशाख १० गते निवेदन दिएको बताएको छ।
सुभिर ब्रदर्सले दुईवटा निवेदन दिएको थियो। जसमा पहिलो प्रस्ताव ९२ करोड लगानी गर्ने गरी थप १२ सय रोपनी जग्गा समेत माग गरेको थियो भने दोस्रोमा हाल प्रयोग गरेको मात्र क्षेत्रमा २९ करोड लगानी गर्ने गरी ९४ लाख लिज रकम प्रस्ताव पेश गरेको थियो।
ट्रष्टको कानून अनुसार दोस्रो प्रस्तावमा कारवाही अगाडी बढाउँदै सुभिर ब्रदर्सले दिएको निवेदन प्रस्तावमा नयाँ लिज भाडादर उपर नेट प्रिजेन्ट भेलुका आधारमा फेयर मार्केट भेलु निकाल्न नेपाल चार्टड एकाउन्ट संस्था आईक्यानलार्ई अनुरोध गरेकोमा उसले स्वतन्त्र मुल्यांकन कर्ताबाट गराउन सुझाव दिएको कार्यलयले बताएको छ।
आईक्यानले दिएको सुझाव अनुसार ट्रष्ट कार्यलयले एस. देवकोटा एण्ड कम्पनि छनोट गरी मुल्याङकन गर्दा १ करोड ७ लाख अमेरिकी डलर लिज रकम लिनुपर्ने प्रतिवेदन पेस गरेको जानकारी दिएको छ।
ट्रस्ट कार्यलयको ४८ औं बैठकबाट हाल गोकर्ण रिसोर्ट सञ्चालन गरिरहेको सुभिर ब्रदर्सलाई परिमार्जित भाडादर प्रस्ताव गर्न पत्राचार गर्दा सुभिर ब्रदर्सले १ करोड ८ लाख भाडादर पुनः प्रस्ताव गरेको बताएको छ।
सुभिर ब्रदर्सले दिएको अन्तिम निवेदन उपर नेपाल पर्यटन बोर्ड, होटल एशोसियसन अफ नेपाल र गोकर्णेश्वर नगरपालिकासँग लिज अवधि थप गर्ने वा नगर्ने राय माग गरिएकोमा सकरात्मक राय प्राप्त भएको ट्रस्ट कार्यलयले बताएको छ।
नेपाल ट्रष्टलाई प्रत्यक्ष रुपमा प्राप्त हुनेगरी १ अर्व २२ करोड नेपाली रुपैयाँ र लिज अवधिमा कर्पोरेट कर वापत नेपाल सरकारलाई अप्रत्यक्षरुपमा ३ अर्व ९ करोड गरी करिब ४ अर्व ३२ करोड नेपाल सरकारलाई प्राप्त हुने देखिएको बताएको छ। पत्रकार सम्मेलनमा ट्रस्टका सहसचिव राजेश्वर ज्ञवालीले सो जग्गा गाईचरण हुन नदिन समयभन्दा अगावै सम्झौता गरिएको बताएका छन्।
५ वर्ष ८ महिना अगावै सम्झौता गर्दा ४ लाख अमेरिकी डलर नेपाल ट्रस्टलाई फाईदा हुने ज्ञवालीले बताए। नयाँ सम्झौता अनुसार २९ करोडको लागानीमा ४८ वटा सुविधायुक्त कोठाहरु तथा ४०० जना व्यक्ति अट्ने सभा हल निर्माण हुने उनले जानकारी दिए।
सम्झौता विवादित बनेपछि ट्रस्टले पत्रकार सम्मेलनको आयोजना गरेर स्पष्टीकरण दिएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया