बैसाख १५, २०८३ मंगलबार April 28, 2026

व्यक्तिगत कुरा किन सार्वजनिक गर्ने ?- बबिता बस्नेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हामी नेपालीलाई को कस्तो, कसले के गरिरहेको छ, को कहाँ गयो, कस्तो हाउभाउ गऱ्यो, कोसँग कसरी बोल्यो, कोसँग आँखा जुधायो जस्ता कुरामा अलि बढी नै रुचि छ । पहिलापहिला यस प्रकारका कुराहरू गाउँघरमा पानी, पँधेरा, चिया पसल, पाटी, चौतारातिर गरिने गफगाफमा सीमित हुन्थे । प्रविधिको पहुँच र प्रयोगसँगै त्यस्ता कुराहरू अहिले मिडिया र सोसियल मिडियाका ‘गसिप’ बन्न थालेका छन् ।

पहिलापहिला कसैका श्रीमान् श्रीमतीले सम्बन्धविच्छेद गरे भने खासखास खुसखुस हुन्थ्यो, ल…यसको त यस्तो भएछ नि…केटाको गल्ती होला…केटीको होला…हेर्दै यस्ती थिई या थियो…त्यस्तासँग को बस्छ र ? अब के गर्छ या गर्छे होला है ? उनीहरूको जिन्दगी आफैँले बाँचिदिनुपर्नेझैँ गरी आफन्त, नातेदार र परिचितहरूबीच धेरै दिनसम्म चर्चा चल्थ्यो । भनुँ कि नभनुँ सोधुँ कि नसोधुँ गर्दै आफन्तहरू एउटा कुरा सुनेँ…भन्दै बिचराको भावमा कुरा उठाउँथे । खासमा के भएको रहेछ भनेर जान्नुभन्दा पनि सम्बन्धितका बाबुआमा या निकटवर्तीहरूलाई एक तह तल झार्नु उनीहरूको उद्देश्य हुन्थ्यो । अहिले हेर्दाहेर्दै आँखैअगाडि जमानाले यसरी फड्को माऱ्यो कि जानेको, सुनेको, देखेको, सोचेको, टाढाको, नजिकको, नातेदारको या सार्वजनिक व्यक्तित्वको सबैका कुरा सोसियल मिडियामा आउन थाले । जानकारी पाउनै नपर्नेहरूले पनि बाध्य भएर कति कुराहरू सुन्नु, हेर्नुपर्ने भयो ।

कसको, कहिले, कहाँ, पहिलोपटक भेट भएको थियो, कसको विवाह कहिले भएको थियो, को मिल्यो, को छुट्यो, को गर्भवती भयो, कसका छोराछोरी जन्मिए, कसको विवाहको वार्षिकोत्सव कहिले हो, कसले के खायो, कसलाई भेट्यो सबै कुराहरू सार्वजनिक हुन थाले । सामाजिक सञ्जालले टाढाटाढा रहेका साथीहरू के गरिरहेका छन्, आफन्तहरू कता छन्, के गर्दै छन् लगायतका जानकारी मात्र दिइरहेको छैन, साथमा रहेकाहरू आफूसँग दूरी कायम गर्दा कति खुसीसँग समय बिताइरहेका छन् भन्ने कुराको महसुस पनि गराइरहेको छ । एउटै घरमा बस्नेहरू मात्र नभएर एउटै कोठा र ओछ्यानमा रहेकाहरू पनि सामाजिक सञ्जालका कारण टाढाटाढा भएकाहरूसँग नजिक र सँगै रहेकाहरूसँग टाढा हुन थालेका छन् । एक–अर्काबीच दूरी बढेकोमा चिन्तित खासै कोही देखिँदैनन् । आफन्त, सन्तान, श्रीमान् श्रीमती, साथीहरू तिथिमिति हेरेर जन्मदिन, भेटघाट, विवाह, ब्रतबन्ध, विवाहोत्सव सबैमा फोटो राख्नु हाम्रो दिनचर्याझैँ बनिसकेको छ ।

सामाजिक सञ्जालले टाढाटाढा रहेका साथीहरू के गरिरहेका छन्, आफन्तहरू कता छन्, के गर्दै छन् लगायतका जानकारी मात्र दिइरहेको छैन, साथमा रहेकाहरू आफूसँग दूरी कायम गर्दा कति खुसीसँग समय बिताइरहेका छन् भन्ने कुराको महसुस पनि गराइरहेको छ ।

केही दिनअघि कुराकानीको क्रममा इन्हुरेड इन्टरनेसनलसँग आबद्ध एकेडेमिक व्यक्तित्व सिर्जना पोखरेलले रिलेसनसिप प्रदर्शन गर्ने कुरा हो र ? भन्ने प्रश्न गरेपछि हामीले केही समय यो प्रश्नमा शब्द खर्च गरेका थियौँ । संयोगले त्यस दिन उहाँको विवाहको वार्षिकोत्सव रहेछ । साँझ परिवारमा रमाइलो गर्ने योजनाको फेहरिस्तका बारेमा फोनमा श्रीमान्–श्रीमतीबीचको कुराकानीपछि उहाँले यो पङ्क्तिकारसँग भन्नुभयो, ‘सँगै रहेका श्रीमान् र आफ्नो फोटो राखेर यति वर्ष भयो, समय कसरी बित्यो थाहै भएन भनेर लेख्नु ‘फेक’ जस्तो लाग्यो । सँगै बसेपछि समय बितेको थाहा पाउने गरी तीता–मीठा संवाद, आवेग, संवेगहरू भइरहेका हुन्छन्, थाहै पाइएन भन्दा कसले पत्याउला ? रिलेसनसीप त सधैँ ‘वर्क अन प्रोग्रेस’मै हुन्छ नि । पहिला यसरी सोच्दिनँथेँ, मैले पनि विगतमा व्यक्तिगत कुराहरू फेसबुकमा पोस्ट गरेँ, तर अबचाहिँ नगरुँजस्तो लाग्यो । रिलेसन त एक–अर्काप्रतिको सम्मानले चल्ने हो फोटोले होइन । सोसियल मिडियाले हामीलाई देखावटी बनाइरहेको छ ।’

२०७६ साल कात्तिकको तेस्रो हप्ता बुटवलमा थियौँ । सोसियल मिडिया र फोटोहरूको कुरा भइरहेको थियो । पत्रकारिता अध्यापनसमेत गर्दै आउनुभएका पत्रकार विनोद भट्टराईले खासमा तपाईंहरू यति धेरै फोटोहरू किन पोस्ट गर्नुहुन्छ ? भन्दै अहिले हामी मणिग्राममा बसिरहेका छौँ, जहाँ हामीलाई धेरैले चिन्दैनन् । हातमा फोटोको एल्बम लिई बाहिर सडकमा उभिएर यो मेरो श्रीमती, श्रीमान्, बाबुआमा, छोराछोरी, यी यति वर्षका भए, भतिजी, साथी भन्दै नचिनेका मानिसलाई देखाउनुको के अर्थ हुन्छ ? भनेर सोध्नुभयो । त्यस्तो कसले गर्छ र ? भन्ने जवाफ पाएपछि उहाँले भन्नुभयो, ‘फेसबुकमा तपाईंहरूले ती फोटोहरू कसका लागि राख्नुभएको त ? तिनै नचिनेका मानिसहरूका लागि त हो, चिन्नेहरूलाई त तपाईंका छोराछोरी कति वर्षका भए थाहा भइहाल्छ नि जानकारी किन दिन पऱ्यो ?’ उहाँका कुरा सुनेर अलि कस्तो–कस्तो पनि लाग्यो, त्यस्तो त हामीले केही वर्षदेखि गरिरहेकै छौँ । अहिले फोटोहरू पोस्ट गर्नुअघि मणिग्रामको सडकमा एलबम बोकेर उभिएको दृश्य अनुभूति गर्छु । व्यक्तिगत, अरूले जानकारी राख्नै नपर्ने सन्देश दिने फोटोहरू पनि हामीले पोस्ट गरिरहेकै हुन्छौँ ।

दिनप्रतिदिन हेर्दाहेर्दै मानिसलाई सोसियल मिडियाले छरपष्ट बनाइरहेको छ । युटुब च्यानलहरूले मानिसका व्यक्तिगत कुरालाई यति धेरै महत्व दिन थाले कि ससाना पारिवारिक भनाभन पनि अब युटुबबाट हुन थाले । कसले कसलाई विवाह गऱ्यो, किन गऱ्यो, कसले के भन्यो, नाता–सम्बन्ध खोजी–खोजी परिवारका दुई–चारजनाबीच छलफल भएर टुङ्ग्याउनुपर्ने कुरालाई विश्वव्यापी बनाउन थालियो । इलाममा ६५ वर्षका वृद्धा र २१ वर्षकी युवतीबीच भएको विवाहलाई यति उछालियो कि ती वृद्धले युटुबेहरूलाई लखेट्नुपर्ने अवस्था आयो, के इज्जत रह्यो त सामग्री बनाउनेहरूको ? अहिले गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेदमा जे–जे बाहिर आइरहेको छ ती सबै मिडियामा आउनुपर्ने खालका छैनन् । यतिसम्म कि रामकृष्णकी दिदीको समेत खोजी गरेर उनका बारेमा व्यक्तिगत प्रश्नहरू सोधिएको छ । मैले बोलेका कुरा कहाँ जान्छन्, केका लागि कुरा भइरहेको हो मानिसले थाहा नपाई बोलिरहेका हुन्छन् ।

‘सँगै रहेका श्रीमान् र आफ्नो फोटो राखेर यति वर्ष भयो, समय कसरी बित्यो थाहै भएन भनेर लेख्नु ‘फेक’ जस्तो लाग्यो । सँगै बसेपछि समय बितेको थाहा पाउने गरी तीता-मीठा संवाद, आवेग, संवेगहरू भइरहेका हुन्छन्, थाहै पाइएन भन्दा कसले पत्याउला ? रिलेसनसीप त सधैँ ‘वर्क अन प्रोग्रेस’मै हुन्छ नि ।

कुनै पनि प्रकारको संवेदनशीलतामा ध्यान नदिई परिवारका, व्यक्तिका कुराहरू धमाधम सोसियल मिडियामा आउन थाले । रवि रुवाली आत्महत्या मुद्दामा परिवारका प्रायः सबै सदस्यले एक–अर्कालाई मिडियाबाटै गाली गरे । देउरानी, जेठानी, आमाजू, आमा, बाबु, छिमेकी भन्दै कसलाई मात्रै मिडियामा ल्याइएको छैन ? परिवारको सदस्यको मृत्यु भएको छ, मानिसहरू तम्तयार भएर मिडियामा बोलिरहेका छन्, एक–अर्कालाई सकेको गाली गरेका छन् । परिवारका सदस्यहरू बसेर छलफल गर्नुपर्ने कुरा युटुबमार्फत विश्वव्यापी बनाउँदा परिणाम के हुन्छ ? कसैले सोचेको छैन । ल… आउँदै हुनुहुन्छ उहाँकी देउरानी… त्यसपछि भट्टट सकेको गाली र श्राप…इन बक्समा लेखिएका म्यासेजहरू…प्रहरीले अनुसन्धान गरिरहेकै होला, पारिवारिक ती कुरा सबैलाई सुनाउनुुपर्ने किन ? तर, मानिसलाई अरूको व्यक्तिगत कुरामा यति रुचि छ कि त्यस्तै कुराहरू बजारमा चलिरहेका छन् । माइक तेस्र्याउने र बोल्ने दुवैलाई कसैको व्यक्तिगत गोपनीयता र संवेदनशीलतामा कुनै मत्लब देखिँदैन ।

खाने, लाउने, सम्बन्ध, विवाह सबै मानिसका व्यक्तिगत कुरा हुन् । लाउने पोसाकको कुरै भएन, खाने कुरा पनि खानुअघि पहिला फोटो खिचेर पोस्ट गरेपछि मात्रै हामी खान थाल्यौँ । कुलपूजा आफ्नो वंशबाहेक अरूले हेर्न हुँदैन भन्ने थियो, अब त हेर बाबु भनेर धामी उफ्रँदै गरेका, बोका काटेका दृश्यहरू प्रत्यक्ष दिन थालियो । मार्निङवाकदेखि भान्सा हुँदै मानिस मरेका, श्राद्ध गरेकादेखि काजकिरियासम्मका फोटोहरू आउन थाले । लाइक, कमेन्ट पर्म तिरेजस्तो भएका छन् । जति व्यक्तिगत कुराहरू दिन सक्यो त्यति पाठक, स्रोता बढ्ने देखिइरहेको छ । अङ्ग्रेजीमा एउटा भनाइ छ, ‘ग्रेट माइन्ड्स टक अबाउट आइडिया, एभरेज माइन्ड्स टक अबाउट इभेन्ट, स्मल माइन्ड्स टक अबाउट पिपुल ।’ हाम्रो माहौल हेर्दा मान्छेकै बारेमा अल्झिएको देखिन्छ । यो यस्तो, त्यो त्यस्तो, यसले यसो भन्यो, उसले त्यसो गऱ्यो, के खायो, के लायो, के बोलेको त्यस्तो ? आदि–इत्यादि । मान्छेका व्यक्तिगत कुरा अब व्यक्तिगत रहेनन् । सबै कुरा छरप्रस्ट गरेपछि समाज कता जान्छ ? कतिले भन्नुहोला मानिसले सबै कुरा देखाएको, सुनाएको पारदर्शी भएको त राम्रो नि । पारदर्शिता र नाङ्गोपन फरक कुरा हो । हाम्रो यात्रा कता जाँदै छ ? हामी सबैले आ–आफ्नो ठाउँबाट मनन गर्नुपर्ने बेला आएको छ । कतिले यसलाई व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग पनि जोड्नुहोला । अभिव्यक्ति स्वतन्त्रतासँगै उत्तरदायित्व जोडिएर आउँछ । संविधानले हामीलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको छ, उत्तरदायीचाहिँ नागरिक आफैँ बन्ने हो । घटना र बिचार साप्ताहिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार